पोखरा ९ मा काँग्रेसको घरदैलो, काँग्रेसलाई जिताउन पालिखेको आग्रह

पोखरा, कार्तिक २५ ।
नेपाली काँग्रेस क्षेत्र नं २(ख)का उम्मेदवार विन्दुकुमार थापाले घरदैलोको शनिबार तेस्रो दिन आफनै वडाका घर घरमा पुगेका छन् ।
तेस्रो दिन वडा नं ९ मा उनले महेन्द्रपुलबाट घरदैलो थाले । घरदैलोमा काँग्रेसका पुराना अग्रजहरुको उपस्थिति रह्यो । काँग्रेसकै गढ मानिएको वडा थापाले विहानैदेखि घरदैलो गर्दै आफनो पक्षमा अभिमत तयार पारेका छन् ।
घरदैलोको अगुवाई भने नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले गरे । उनकै अगुवाईमा महेन्द्रपुल क्षेत्रमा घरदैलो गर्दै थापाको पक्षमा भोट माग्दै हिँडे । पाखिलेचोकदेखि दक्षिण तर्फको अभियानमा उनी उम्मेदवारसँगै भोट माग्दै सहयोगी भूमिका खेले । उनले आफु काँग्रेसप्रति प्रतिबद्ध रहेको जनाउँदै काँग्रेस बाहेक अरुसँग कुनै मतलब नभएको बताए । वडा नं ९ ऐतिहासिकदेखि नै काँग्रेसको क्षेत्र हो ।
“काँग्रेस विरुद्ध उठ्नेप्रति हाम्रो मतलब रहदैन् । पार्टीप्रति इमान्दार र प्रतिबद्ध भएर लाग्नुपर्छ ।”उनको भनाई थियो । पोखरा उपत्यका नगरविकास समितिका पुर्व अध्यक्ष समेत रहेका पालिखेको अगुवाईले नेवारी समूदायको बाक्लो उपस्थिति थियो । नेपाल काँग्रेस कास्कीका पुर्व कोषाध्यक्ष समेत रहिसकेका पालिखेले काँग्रेसको जित नै सुनिश्चित बनाउन कुनै कसर नराख्ने अठोट समेत लिएका छन् ।
घरदैलो अभियानमा समानुपातिक उम्मेदवार आनन्दराज मुल्मीको समेत उपस्थिति थियो । पालिखे र मुल्मीको उपस्थिति महेन्द्रपुल, नयाँबजार क्षेत्रमा अर्थपूर्ण हेरिएको छ ।