पोखरा २१ मा पिउने पानी अभियान बर्ष

पोखरा, भदौ ३ ।
पोखरा महानगरपालिका वडा नम्बर २१ ले यो बर्षलाई पिउने पानी बर्ष घोषणा गरेको छ । नागरिकलाई शुद्ध पानीको उपलब्धता बढाउन र खानेपानी समस्या समाधान गर्नका लागि पिउने पानी बर्ष घोषणा गरेरै काम अघि बढाईएको हो । खासगरी निर्मलपोखरी, कृष्ति क्षेत्रमा खानेपानीको निकै ठूलो समस्या छ । वडाले खानेपानी समस्या समाधान गर्नका लागि चालू बर्षको बजेटबाट १ करोड रुपैयाँ विनियोजन गरेको छ । ‘वडालाई १ करोड ४९ लाख रुपैयाँ मात्रै बजेट छ । यो बजेटबाट १ करोड त खानेपानीमै विनियोजन गरिएको छ, वडाध्यक्ष खगराज आचार्यले भने–अर्को बर्ष पानीमा पैसा लगानी गर्न नपर्ने गरी काम हुन्छ । अर्कोबर्षदेखि अरु पूर्वाधारमा लगानी हुन्छ ।’ उनका अनुसार कृष्ति र निर्मलपोखरी क्षेत्रमा सहलगानीको खानेपानी आयोजना पनि निर्माणाधीन छ । आचार्यले आफ्नो जग्गा नै धितो राखेर खानेपानी आयोजनाको सम्झौता गरेका थिए ।

स्थानीय निर्वाचनपछि धेरै स्थानीय तहहरु अझै अन्यौलमा छन् । केही स्थानीय तहका जनप्रतिनिधीहरुले सुरुमै योजना बनाएर विकासे काम थालेका छन् । पोखरा महानगरपालिका वडा नम्बर २१ ले आगामी निर्वाचन अघि सक्ने गरी विभिन्न योजनाहरु सार्वजनिक गरेको छ । वडाध्यक्ष आचार्यले धेरै कार्यक्रमहरु सुरु भैसकेको भन्दै केही रणनीतिक योजना यही बर्षदेखि लागू गर्ने जानकारी दिए । मट्टीखान–दोपहेरे सडक, दोपहरे–छर्छरे हुँदै रामादी फुस्रेखोला सडक, रामादी–भाल्डाँडा–वडा कार्यालय–कृस्ती सडक, हराबोट–रातामाटा–हिमालय मार्ग, मट्टिखान–धुवारकोट–दोपहरे सडक, दोपहरे–खत्री गाउँ–खाम्पुर सडक, निर्मलपोखरी–भरतपोखरी–कोत्रे पर्यटन मार्गको काम गरिनेछ । यस्तै, शिवालय–थाप्ले हुँदै चिलाउने खर्क सडक, फुर्से–पारिडाडा–दम्सादी–रघैचौर–दुवार नमुना पर्यटन मार्ग, मैदान–धुस्र्यानी सडक, शिवालय–सुनार गाउँ हुँदै जनचेतन बैकल्पिक सडक, अम्मट–शिवालय लिंक रोड, दोविल्ला–निर्मलपोखरी सडक, फुर्से–दोपहरे सडक, फुर्से–मट्टीखान सडक र तीनवटा पर्यटन फुट ट्रयाक निर्माण हुने वडाध्यक्ष आचार्यले बताए ।

योसँगै वडाभित्र रहेका पर्यटकीय क्षेत्रको विकास, चिलाउने खर्कलाई दक्षिण एसियाकै नमूना होम स्टे, टोलटोलमा स्कुल र हरेक स्कुलमा डाक्टर पु¥याउने, भविष्य निर्माण मावि र जनचेतन माविमा प्राविधिक शिक्षा सञ्चालन गर्ने योजना पनि अघि सारिएको छ । ‘त्रिभुवन युनिर्भसिटीको ग्रामिण विकास बिभागसँग मास्टर प्लान बनाउने सम्झौता भएको छ, उनले भने–दुई महिनाभित्रै मास्टर प्लान प्राप्त हुन्छ र सोही अनुसार काम अघि बढ्छ ।’