पोखरा १६ को वडा कार्यालयमा चोरी

पोखरा, चैत १० ।
पोखरा महानगरपालिकाको १६ नम्बर वडा कार्याालयमा चोरी भएको छ । कार्यालयमा रहेको २ वटा ल्यापटप, ४ वटा कम्प्युटर तथा कार्यालयका अन्य महत्वपूर्ण सामग्रीहरु चोरी भएको वडाध्यक्ष जीवन आचार्यले जानकारी दिए ।

‘शुक्रबार कार्यालय बन्द गरेर गएपछि सीधैं आइतबार अफिस खोल्दा चोरी भएको थाहा भयो,’ उनले भने, ‘चोरी शनिबार भयो कि शुक्रबार भयो भन्ने नै थाहा भएन ।’ जिल्ला प्रहरी कार्यालय कास्कीले चोरीबारे अनुसन्धान भइरहेको बताएको छ ।

यसअघि पनि पोखराका वडा नम्बर ५, १३, १४ र १५ कार्यालयमा चोरी भइसकेका छन् । फागुन २३ गतेमात्रै पोखरा १३ को वडा कार्यालयमा चोरी भएको थियो । उक्त कार्यालयका सिसिटिभी क्यामेरासमेत चोरी भएको थियो । लगातारको चोरीले महानगरले महत्वपूर्ण कागजातसहित लाखौं क्षति व्यहोर्दै आइरहेको छ ।

महानगरका वडा कार्यालयमा लगातार चोरी हुन थालेपछि महानगरले रात्रीकालीन कर्मचारी खटाएरै सुरक्षा विधि अपनाउने निर्णय गरेको छ । महानगरको चैत १ गते बसेको २८ औं कार्यापालिका बैठकले वडा कार्यालयसँग समन्वय गरेर रात्रीकालिन जनशक्ति खटाउने निर्णय गरेको थियो ।