पोखरा विमानस्थलबारे ट्विट गर्दै मन्त्री रवीन्द्रले भने–’एयरपोर्ट बन्छ, भ्रममा नपरौं’

पोखरा, जेठ २६ ।
पोखरा अन्तराष्ट्रिय विमानस्थलका बारेमा विज्ञ समूहको प्रतिवेदन सार्वजनिक भएपछि पोखरामा एकखाले तरगं पैदा भएको छ । विशेषगरी एयरपोर्ट निर्माणमा अगुवाई गरिरहेका पोखरा उद्योग बाणिज्य संघ सहितका विभिन्न सामाजिक संघ संस्था र राजनीतिक दलहरुले विमानस्थल बन्न नदिने षड्यन्त्र भएको भन्दै खवरदारी सुरु गरेका छन् । दवाव स्वरुप मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई विज्ञप्ती पनि बुझाईएको छ । नेपाली काँग्रेसले प्रेस विज्ञप्ती जारी गरी विमानस्थल निर्माणमा अवरोध सिर्जना भए ठूलो मूल्य चुकाउनुपर्ने भन्दै सरकारलाई चेतावनी पनि दिएको छ ।

विज्ञ समूहको प्रतिवेदनप्रति पोखरेली सांसद तथा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले आधिकारिक धारणा सार्वजनिक नगरेको प्रति पोखरेली बढी चिन्तित छन् । उनीहरुले धारणा सार्वजनिक गर्न माग पनि गरे । सर्वत्र विरोध भएपछि शुक्रबार साँझ मन्त्री रवीन्द्र अधिकारीले विमानस्थल निर्माणबारे भ्रममा नपर्न आग्रह गर्दै समयमै एयरपोर्ट निर्माण सकिने बताएका छन् ।

‘विमानस्थलबारे केही मिडियामा आएका समाचारको बिषयमा भ्रमित नहुन सबैमा आग्रह गर्दछु, ट्विटरमा उनले लेखेका छन्–विमानस्थल निर्माण कार्य योजना अनुरुप नै तोकिएकै समयमा सम्पन्न हुने लक्ष्यका साथ अगाडी बढिरहेको छ । र तोकिएकै सीट क्षमताका जहाज संचालनमा आउनेछन् ।’

विमानस्थलबारे प्रकाशित समाचारहरु भ्रमपूर्ण रहेको भन्दै नागरिक उड्ययन प्राधिकरणले पनि विज्ञप्ती निकालेको थियो । तर विज्ञ समूहले चाहीँ पोखरामा साना विमान पनि अवतरण गर्न समस्या हुने भन्दै पुनःविचार गर्न सुझाव दिएको थियो । विज्ञ समूहको सुझाव बारे मन्त्री र प्राधिकरण हालसम्म बोलेको छैन ।