पोखरा महोत्सव सुरु, उद्यमी बनेर समृद्धीमा सघाउनुस्–अध्यक्ष

पोखरा, पुस २८ ।
राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सीनाले यूवापुस्ता देशबाट पलायन हुँदा राष्ट्र संकटमा पर्ने बताए । यूवाको काँधमा राष्ट्रिय जिम्मेवारी रहेको भन्दै उनले देशमै रोजगारी सिर्जना गरेर यूवालाई रोक्नुपर्ने उनको भनाई छ । नवौं पोखरा महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सीनाले नेपालमै उद्योग ब्यवसाय गरेर राष्ट्र निर्माणमा जुट्न आग्रह गरे । ‘यूवाहरु बैदेशिक रोजगारीका लागि दिनहूँ बाहिरिँदा देश रित्तो भैसक्यो । यसले मुलुकलाई नोक्सान हुन्छ, उनले भने–आफ्नै ठाउँमा लगानी गर्नुस् । उद्योग ब्यवसाय चलाउनुस् र रोजगारि दिनुस् । यसले समृद्ध नेपाल निर्माणमा सघाउँछ ।’ गण्डकी प्रदेशको सम्भावना प्रचुर भएकोले यहाँका यूवाहरु उद्यमी बन्नुपर्ने उनको सुझाव छ । उनले महिलाहरुलाई पनि स्वरोजगार बनाउन सरकारले विभिन्न कार्यक्रम सार्वजनिक गरेको बताए । अध्यक्ष तिमिल्सीनाले पोखरा महोत्सव पनि यूवाहरुको अठोटले सफल भैरहेको बताएका छन् ।

पूर्व स्वास्थ्य मन्त्री तथा प्रतिनिधीसभा सदस्य खगराज अधिकारीले महोत्सवकै आयोजना गरी चिडियाखाना निर्माण शुरु गर्नु प्रशंसनीय कार्य भएको बताए । उनले चिडियाखाना निर्माणपछि प्रदेशमा नयाँ गन्तब्य थपिने उल्लेख गरे । युनाईटेड क्लवले पोखरा महोत्सव आयोजना गरेरै लेखनाथको पचभैयामा खुला चिडियाखाना (जुओलोजिकल पार्क) निर्माणको काम गरिरहेको छ । गण्डकी प्रदेशका सांसद तथा विकास समितिका सभापति दीपक कोइरालाले पोखरा महोत्सवले समाज रुपान्तरणमा योगदान गरेको बताए ।

कार्यक्रममा प्रकृति सरंक्षण कोषका पूर्व सदस्य सचिव तथा चिडियाखाना विज्ञ जुद्ध वहादुर गुरुङले पोखरामा बन्ने जुलोजिकल पार्क नेपालकै लागि आकर्षण र नयाँ प्रयोग भएको बताए । यो चिडियाखानाले जीवजन्तुको संरक्षणमा ठूलो टेवा पुग्ने उनको विश्वास छ । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ, महोत्सवका मुख्य प्रायोजक सिजी हार्डवेयर एण्ड सप्लायर्सका सञ्चालक दिनेश कुमार चौधरी, पोखरा जुलोजिकल पार्कका अध्यक्ष हिमालय बख्रेल, नेकपाका नेता दामोदर बैरागी, पोखरा १२ का वडाध्यक्ष रामबहादुर कार्की, अमरसिंह माविका तेजस्वी बराल, नेपाल उद्योग बाणिज्य महासंघ गण्डकीका अध्यक्ष सञ्जीवबहादुर कोइराला, शान्ती दर्शन महिला समूहकी अध्यक्ष दिलमाया गुरुङ लगायतले समाजसेवामा क्लवको भूमिका र पोखरा महोत्सवका सकारात्मक पक्षबारे टिप्पणी गरेका थिए । क्लवले थालनी गरेको चिडियाखानामा प्रदेश सरकारले समेत डेढ करोड रुपैयाँ लगानी गरेको छ । हाल काम तिब्र रुपमा अघि बढिरहेकोले आगामी असोज महिनासम्म सर्वसाधारणका लागि पार्क खुला हुने अध्यक्ष बख्रेल बताउँछन् । आयोजक युनाईटेड क्लवका अध्यक्ष लालकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव शान्त बहादुर थापाले गरेका थिए भने उपाध्यक्ष राजु श्रेष्ठले स्वागत गरेका थिए ।

महोत्सव उद्घाटन पूर्व विभिन्न जातजातिको भेषभुषा सहित झाँकी प्रदर्शन गरिएको थियो । झाँकीतर्फ राम बजार पुन समाज पहिलो भएको छ भने चिउलीपाचे तमु समाज दोश्रो, नेपाल मगर संघ कास्की तेश्रो तथा तनहूँ तमु समाज र बुढीबजार तमु समाज सान्त्वना भए । ¥यालीतर्फ पोखरा १० माछापुच्छ«े टोलको ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालयल पहिलो भयो । लक्ष्मी टोल आमा समुह दोश्रो र जनप्रियटोल आमा समुह तेश्रो तथा भद्रकाली दिदी बहिनी समुह र स्वर्णीम टोल महिला समुहले सान्त्वना भए ।

शुक्रबारदेखि सुरु भएको महोत्सव माघ ८ गतेसम्म चल्नेछ । यस बीचमा विभिन्न सांस्कृतिक कार्यक्रम र विविध प्रतियोगिता पनि हुँदैछ । आयोजकले महोत्सव अवधिभर लेखनाथमा निर्माणाधीन जुओलोजिकल पार्क अवलोकनको ब्यवस्था मिलाएको छ ।