पोखरा महानगर–कमिसनको चक्करमा नीतिगत चलखेल

प्रकाश ढकाल
पोखरा, मंसिर ९ ।
कोच्चिएर बस्दा मुश्कीलले चारजना अट्ने चारै हात लामो र एक बित्ता फराकीलो खिया लागेको फलामे पाता । टाउको पनि नओत्ने फलामकै छत र त्यसमाथी सोलारको दुईटा साना प्यानल । कुहिएका चारपाटे पोल । पोखराको पृथ्वीचोकमा महानगरले बनाएको ‘स्मार्ट’ प्रतिक्षालयको दृष्य यही हो । सोलार प्यानलबाट तार जोडेर प्रतिक्षालयको भित्तामा चाहीँ चौविसै घण्टा बत्ति बल्छ । बत्तिले रंगीचंगी फोटाहरु झिलिमिली देखिन्छन् । महानगरले ५३ वटा प्रतिक्षालयहरु नगरक्षेत्रभित्र राखिसकेको छ । यसमध्ये सबैभन्दा धेरै आकृति एड्भरटाईजिङको ४० वटा छ भने शाकम्भरीको ८ वटा र एपेक्सले ५ वटा प्रतिक्षालय राखिसकेको महानगरका इञ्जिनियर सुरेन्द्र पौडेलले जानकारी दिए ।

उनका अनुसार एउटा प्रतिक्षालय निर्माण गर्न १० लाख रुपैयाँ खर्च लाग्छ । प्रतिक्षालय बनाउदा लाग्ने खर्च सम्बन्धित कम्पनीले नै ब्यहोर्छ भने निर्माण सकिएपछि महानगरलाई बार्षिक २५ देखि ४० हजारका दरले बुझाउनुपर्ने नियम छ । ठाउँहेरी महानगरले लिने शुल्क पनि फरक रहेको पौडेल सुनाउँछन् । महानगरसँग ४० हजारमा ठेक्का लिएका कम्पनीहरुले विज्ञापनदातासँग चाहीँ बार्षिक ८ लाख रुपैयाँसम्म असुल्ने गरेको भेटिएको छ । पोखरा महानगरपालिकाको कार्यालय अगाडीको प्रतिक्षालयमा विज्ञापन राखेवापत माछापुच्छ«े विकास बैंकले बार्षिक ८ लाख रुपैयाँ ठेकेदार कम्पनीलाई बुझाउँछ । यसरी हिसाव गर्दा पोखरा महानगरलाई ‘स्मार्ट’ भनिएको प्रतिक्षालयबाट मात्रै बर्षेनी साढे २ करोड भन्दा बढी नोक्सान हुन्छ ।

…………………………………………………………..

पोखरा महानगरपालिका अहिले आईल्याण्ड घटाउने अभियानमा छ । गाडीको जाम बढ्न थालेको भन्दै महानगरले पूराना आईल्याण्ड हटाएर ‘स्मार्ट’को नाममा फलामे डोम राख्न थालेको छ । चोकहरुमा नयाँ आईल्याण्ड राख्न फिस्टेल होल्डिङ प्रालिसँग सम्झौता भएको छ । हालसम्म ७ वटा चोकमा आईल्याण्ड राखिसकेको र अझै एउटा आईल्याण्ड राख्न बाँकी रहेको महानगरपालिकाले जनाएको छ । सभागृहचोक, सिर्जनाचोक, हल्लनचोक, बुद्धचोकचोक, राष्ट्रबैंक चोक, नालाको मुख र जीरो किलोमिटरको चोकमा नयाँ फलामे डोम राखिएको छ । महानगरले आईल्याण्ड घटाएको भनेपनि विज्ञापन प्रयोजनकै लागि नयाँ डोमहरु राखिएको श्रोत बताउँछ । ठेकेदार कम्पनीले बार्षिक ३० हजार रुपैयाँ प्रति डोमको शुल्क महानगरलाई बुझाउँछ । तर विज्ञापनदाताले चाहीँ बार्षिक १२ लाख रुपैयाँसम्म एउटै डोमको शुल्क तिरेका छन् । सभागृहचोकको डोममा विज्ञापन राखेबापत प्रकाश पुञ्जले १२ लाख रुपैयाँ बर्षेनी ठेकेदारलाई बुझाएको छ । आईल्याण्डको विज्ञापनबाट पनि महानगरलाई बर्षको ५० लाख हाराहारीमा घाटा छ ।

…………………………………………………………..

पोखरासँग सँधै टाँसिएर आउने केही बर्ष पूरानो एउटा शब्द छ–‘स्मार्ट सिटी’ । स्थानीय चुनावताका यो शब्द निकै धेरै प्रयोग भयो । जनप्रतिनिधिहरुले हरेक भाषणमा स्मार्ट दोहो¥याए । तर स्थानीय चुनावभन्दा पहिले नै पोखरामा स्मार्ट शब्द फेल खाईसकेको छ । २०७२ सालदेखि पोखरामा ‘स्मार्ट’ नामको ‘चारसीटे’ प्रतिक्षालय बन्न थालेको हो । यसरी बनेका प्रतिक्षालय बेकामे त हुने नै भए त्यो भन्दा बढी समस्या छ, यसबाट उठाईने शुल्कमा । महानगरभित्रैका कर्मचारी र ठेकेदारबीचको मिलेमोतोमा करोडौं नोक्सान हुने गरि ठेक्का सम्झौता गरिएको छ ।

सार्वजनिक निजी साझेदारी अवधारणाको नाममा नीतिगत चलखेल गरेर भएका ठेक्का सम्झौता अहिले विस्तारै खुल्न थालेको हो । स्मार्ट भन्दै राखिएका प्रतिक्षालयहरु विज्ञापन स्टेशन मात्रै भएको र यसबाट करोडौं रकम हिनामिना गरिएको महानगरकै एक कर्मचारी बताउँछन् । ‘प्रतिक्षालयमा मान्छे बस्न मिल्दैन । न घाम छेक्छ, न पानी ओतिन्छ, ति कर्मचारी भन्छन्–विज्ञापनबाट पैसा असुल्न प्रतिक्षालयको नाटक गरिएको छ । सरकारसँग सस्तोमा ठेक्का लिएर करोडौं रुपैयाँ ठेकेदारले उठाउँछन् । महानगरले यसबारे गम्भीर छानवीन गर्नुपर्छ ।’

ठेक्काका सबै प्रक्रिया नियमसंगत भएपनि अवधारणा नै त्रुटीपूर्ण रहेको उनको भनाई छ । ‘सार्वजनिक निजी अवधारणा भनेर ठेक्का दिईएको छ । कागजी प्रक्रिया पुगेपनि सार्वजनिक निजी साझेदारी अवधारणाबारे कुनै कार्यविधि छैन, उनले भने–ठेक्का पूरै रद्ध गरेर नयाँ टेण्डर निकाल्नुपर्छ । नभए भित्रभित्रै कमिसन चलिरहन्छ ।’ प्रतिक्षालय र आईल्याण्डका सबै ठेक्का सम्झौता स्थानीय तहको चुनावभन्दा पहिले नै भएको हो ।

जनप्रतिनिधि आउनुभन्दा पहिले नै निर्णय गरेर ४ वटा कम्पनीसँग स्मार्ट प्रतिक्षालय र स्मार्ट आईल्याण्ड राख्ने सम्झौता भयो । २०७२ का कार्यकारी अधिकृत उदयबहादुर रानाको पालादेखि छिरेको स्मार्ट प्रतिक्षालय र आईल्याण्डको चलखेल नवराज ढुंगाना, दीर्घनारायण पौडेल हुँदै अहिले जनप्रतिनिधि निर्वाचित हुँदा समेत कायमै छ । गलत प्रक्रियाबाट दिईएको ठेक्का खारेज गर्नुको सट्टा उल्टै अहिले स्मार्ट बोर्डको पछि जनप्रतिनिधिहरु दौडिरहेका छन् । सबै प्रतिक्षालय र आईल्याण्ड ५ बर्षका लागि सम्झौता भएका हुन् ।

…………………………………………………………..

पोखरामा अहिले टड्कारो रुपमा उठेको बिषय हो होर्डिङ बोर्ड । घरमाथी होर्डिङ बोर्ड राख्दा हिमाल छेकिएको र शहरलाई कुरुप बनाएको आरोप लगाउँदै महानगर डिजिटल बोर्ड राख्ने पक्षमा अघि बढेको छ । यसका लागि नगर परिषद्बाट निर्णय समेत पास भैसकेको छ । तर दशौं तलासम्म मापदण्ड विपरित भवन निर्माण गर्दा भने महानगर बोल्न सकेको छैन । उल्टै भवनको उचाई बढाउने गरि नयाँ मापदण्ड बनाउने तयारीमा जुटिरहेको छ । २०७१ सालदेखि पोखराको होर्डिङ बोर्डमा एकछत्र राज गरेका विराटनगरका मनोज चौहानले स्मार्ट भन्दै चारसीटे प्रतिक्षालयमा पनि लगानी गरेका छन् । चौहानले पोखरा उद्योग बाणिज्य संघबाट ठेक्का लिएर पोखराका अरु ब्यवसायीलाई भाग लगाउँछन् । होर्डिङ बोर्डको क्षेत्रमा पोखराबाट मुख्य तीनवटा कम्पनीले काम गर्दै आएका छन् । तर स्थानीय ब्यवसायीलाई पाखा लगाएर महानगरले अवैध हिसावले बिचौलियाको प्रयोग गर्दै ब्यक्ति पोस्ने काम गरिरहेको पोखरेली ब्यवसायीको आरोप छ ।

‘मैले बर्षमा २१ लाख रुपैयाँ कर मनोजलाई बुझाउँछु । अरु कम्पनीले पनि उति नै रकम बुझाएर ब्यवसाय गरिरहनुभएको छ, परिचय एडभरटाईजिङका प्रमुख सोभित बस्याल भन्छन्–उद्योग बाणिज्य संघ बिचौलिया बन्दा हामी थप मर्कामा परेका छौं । यसले ब्यवसायीलाई ढाड सेक्ने काम गरेको छ भने अर्कोतिर राज्यलाई पनि नोक्सान भैरहेको छ ।’

सैनिक आर्ट, परिचय एड्भरटाईजिङ र डिजिटल मिडिया सोलुसन पोखराका ब्यवसायीक कम्पनी हुन् । पछिल्लो समय होर्डिङ बोर्डमा स्थानीय ब्यापारीको पनि चासो र प्रतिश्पर्धा बढेको छ । होर्डिङ बोर्डमा धेरै प्रतिश्पर्धी भित्रिएपछि उनै चौहानले नयाँ अवधारणा ल्याए डिजिटल बोर्ड । उनकै योजना अनुसार महानगरले होर्डिङ बोर्डलाई रिप्लेस गर्ने गरि डिजिटल बोर्डको योजना अघि सारेको श्रोत बताउँछ । स्मार्ट भनिएका प्रतिक्षालय र आईल्याण्डको योजना फेल खाईरहेका बेला नीतिगत रुपमै चलखेल गरेर राख्न लागिएको डिजिटल बोर्डको खासै भविष्य नभएको जानकारहरु सुनाउँछन् । ‘काठमाण्डौंमा पनि डिजिटल बोर्ड राख्न होर्डिङ बोर्ड हटाईयो तर सम्भव नभएपछि केही ठाउँमा लाईट बोर्ड राखिएको छ । दिउँसोको ब्यापार हुने पोखरामा पनि डिजिटल बोर्ड सम्भव छैन, लामो समयदेखि विज्ञापनको क्षेत्रमा काम गर्दै आएका पूराना ब्यवसायी रोहित मैनाली भन्छन्–होर्डिङ बोर्डभित्र ट्युव लाईट हालेर डिजिटल बोर्ड भन्ने सरकारलाई भ्रम छ । यस्ता निर्णय केही ब्यक्ति पोस्ने काम मात्रै हुन् ।’ डिजिटल बोर्डलाई महानगरले सुन्दरतासँग जोडेको छ भने ब्यवसायीहरुले कमिसनको आरोप लगाएका छन् ।

पोखरा महानगरका मेयर मानबहादुर जिसी जतिसक्दो छिटो कार्यविधि बनाएर डिजिटल बोर्ड राख्ने बताउँछन् । ‘होर्डिङ बोर्ड पोखराका लागि ठीक छैन । सबैकुरा स्मार्ट भनिरहेका बेला विज्ञापन पनि स्मार्ट तरिकाले गर्ने हो, उनले भने–कार्यविधि बन्दै छ । एक हप्ताभित्रै टेण्डर निकाल्छौं ।’ आईल्याण्ड र प्रतिक्षालयको ठेक्का पनि रद्ध गरेर नयाँ टेण्डर निकाल्ने उनको भनाई छ । ‘जनप्रतिनिधि आउनुभन्दा पहिले भएका काम हुन् । हामी नयाँ टेण्डर गर्छौं, उनले थपे–ठेकेदारलाई बोलाएका छौं । हामीले भनेअनुसार भएन भने उप्काएर लैजाउ भनेका छौं ।’ नयाँ एग्रिमेण्ट गरेर अघि बढ्ने उनको भनाई छ ।