पोखरा महानगरमै खेताला शिक्षक !

प्रकाश ढकाल
पोखरा, फागुन ३० ।
पोखरा महानगरभित्रैका विद्यालयमा खेताला शिक्षक राख्ने गरेको भेटिएको छ । सरकारले खेताला शिक्षक राख्न नपाउने निर्देशन गरेपनि महागरका केही विद्यालयहरुमा अझैपनि हट्न सकेको छैन । पोखरा १६ अर्मला स्थित शान्ती माविमा स्थायी शिक्षक घरमा बसेर खेताला शिक्षकले पढाउँदै आएको भेटिएको हो । मावि तहको विज्ञान विषय बढाउने स्थायी शिक्षक प्रकाशराज बराल विरामी भएको निवेदन स्कुलमा थमाएर घरमै बसेपछि स्कुलले खेताला शिक्षक खोजेर नियमित पठनपाठन गरिरहेको छ । बरालको सट्टामा गएको साउन १७ गतेदेखि नारायण भण्डारीले जागिर खाएका छन् । बरालले काठमाण्डौं स्थित ग्राण्डी अस्पतालमा उपचार गरिरहेको र आँफुलाई स्प्लेनोमोलोजी रोगले काम गर्न नसक्ने भएकोले असाधारण विदाका लागि निवेदन साउन ७ गते स्कुलमा बुझाएका थिए ।

स्कुलले चाहीँ जिल्ला शिक्षा विकास तथा समन्वय ईकाईमा जानकारी गरायो । इकाईले विदा स्विकृत नगरेको भन्दै स्कुलले नै खेताला शिक्षक राखेर बराललाई सजिलो बनाईदियो । शिक्षा नियमावली २०५९ को नियम १०६ उपनियम ८ मा गम्भीर विरामी हुँदा वा अध्ययनका लागि आवश्यक परे असाधारण (वेतलवि) विदा बस्न पाउने ब्यवस्था छ । तर असाधारण विदा बस्नका लागि स्थायी भएर सेवा गरेको ५ बर्ष पूरा हुनैपर्छ । बराल २०७३ साल फागुन ११ गते शिक्षक सेवा आयोगको परीक्षा दिएर स्थायी शिक्षक भएका थिए । सेवा अवधी नपुगेको भन्दै बराललाई विदा नदिईएको बताईएको छ । आकस्मिक अवस्था आए त्यसका लागि पनि नियमावलीले बाटो खोलिदिएको छ । विरामी भएको कागजपत्र र मेडिकल बोर्डले पढाउन नसक्ने भनि निर्णय गरेको सिफारिस पत्र बुझाउनुपर्छ । तर बरालले त्यो पत्र नबुझाई मेडिकल रिपोर्ट मात्रै स्कुलमा पेश गरेका छन् । उनले पेश गरेको मेडिकल रिपोर्टमा उल्लेख गरिएको रोग जटिल नभएको एक डाक्टरले बताए ।

‘रिपोर्टमा भएकै अवस्था हो भने जटिल रोग होईन । पढाउन नसक्ने भन्ने कुरै हुँदैन, ति डाक्टरले भने–अरु कारण छ भने मलाई थाहा भएन । तर स्वास्थ्यका कारण वेतलवि विदा बस्नुपर्ने अवस्था चाहीँ छैन ।’ स्कुलले विदा स्विकृत गरेपनि नियमित हाजिरी भने बरालले नै गर्दै आएका छन् । ‘प्रकाश सर १÷२ हप्तामा आउनुहुन्छ । छुटेका दिनको सबै हाजिरी गर्नुहुन्छ र फर्किनुहुन्छ, विद्यालयका प्रधानध्यापक गणेशबहादुर खड्काले भने–वहाँले हाजिरी गरेपछि तलव पनि वहाँलाई नै दिन्छौं । वहाँले नै आफ्नो तलव नारायण सरलाई बुझाउनुहुन्छ ।’ पढाए बापत आँफुले ३१ हजार ५ सय रुपैयाँ पारिश्रमिक पाएको खेताला शिक्षक नारायण भण्डारीले बताए । सञ्चयकोषको रकम चाहीँ बरालकै नाममा जम्मा हुन्छ । स्कुलले नै बोलाएर आँफुले जागिर खाएको बताउँछन् । ‘यस्तो घटनाबारे मलाई कुनै जानकारी छैन । वहाँसँग मेरो कुनै रिलेसन पनि थिएन, उनले भने–एमएस्सी सकेर जागिर खोज्दै हिँडेको थिएँ । स्कुलले बोलायो जागिर खाएँ ।’

मानविय समवेदनाका कारण नयाँ शिक्षक राखेर बराललाई आराम दिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष निर्मल आचार्यले बताए । ‘नर्मल कुरा हो । भण्डारी सर पढाउनै नसक्ने गरि विरामी हुनुभयो । त्यसपछि वहाँले निवेदन दिनुभएको छ, उनी भन्छन्–५ बर्ष नपुगेको भनेर विदा स्विकृत भएन । विद्यार्थी मर्कामा पर्ने भए भनेर ब्यवस्थापन समितिबाटै निर्णय गराएर नयाँ शिक्षक राखेका हौं ।’ नीतिगत रुपमा गलत भएपनि ब्यवहारिकताका कारण यस्तो निर्णय गर्नुपरेको उनी सुनाउँछन् । एमएस्सीको सर्टिफिकेट बुझाएर जागिर खाएका भण्डारीले चाहीँ छुट्टै रजिष्टरमा हाजिरी गर्दै आएका छन् । अहिलेसम्म गल्ती भएको भन्दै विब्यस अध्यक्ष आचार्यले नयाँ शैक्षिक सत्रबाट नियमसँगत काम गर्ने बताएका छन् ।

पोखरा महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख हेमराज आचार्यले स्कुलमा गैर कानुनी काम भएको बताए । ‘सरकारबाट बेतलवी विदा स्विकृत भएको छैन । ब्यक्तिलाई शारिरीक समस्या हुन सक्छ । तर नियम त मान्नुपर्छ नि, उनी भन्छन्–पढाउन नसक्ने हो भने विकल्प अरु थिए । त्यो रोगका कारण पढाउन नसक्ने कुरा मेडिकल बोर्डले निर्णय गरेर पत्र पठाउनुपर्ने हो । स्थायी शिक्षकले सरकारका पूरापूर नियम मान्नुपर्छ ।’ स्थायी शिक्षकको बिदा र नियम नै नहेरि नयाँ शिक्षक राख्ने कुरा बैधानिक मान्न नसकिने उनले सुनाए । ‘मैले पनि स्कुलको निरीक्षण गरें । कुनैपनि काम नियमसंगत भएको पाईन, उनले भने–विरामी भनिएका शिक्षकले विदाका लागि निवेदन दिनुभयो । सम्बन्धित निकायबाट स्विकृत नगराई स्कुलले छुट्टी दियो । कानुननको आँखामा यो काम क्षम्य हुँदैन ।’ महानगरले स्कुलसँग स्पष्टीकरण सोधेको छ भने स्कुलको आर्थिक कारोबारको सबै खाताहरु समेत बन्द गरिदिएको आचार्यले बताए । पहिलो पटक सोधेको स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नआएपछि दोश्रो पटक पनि स्पष्टीकरण सोधिएको महानगरले जनाएको छ ।

नियमित रुपमा पढाउँदै आएका विद्यालयका स्थायी शिक्षक प्रकाशराज बरालले सबैको सुझावले नै काम गरेको बताए । विरामी भएर म उपचार गर्न जाँदा विद्यार्थीको पढाई छुट्थ्यो । विद्यार्थीको भविष्य हेरेरै मैले पनि वेतलवि विदा बस्ने निधो गरेको हुँ, उनी भन्छन्–विद्यार्थीको पढाई ह्याम्पर भएको छैन । मेरो सेवाअवधी गणना हुने पनि होईन । ब्यवहारिकतालाई हेरेरै मैले सहज बनाईदिएको हो ।’