पोखरा महानगरपालिकाका महाशाखा प्रमुख पौडेल मृतावस्थामा भेटिए

तनहुँ, असार ३० ।

पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेलको शनिबार बिहान करीब ८ बजेको समयमा तनहुँमा भेटिएको छ । भिमाद नगरपालिका वडा नं ६ स्थित सेतीनदी किनारमा तैरिरहेको अवस्थामा पौडेलको शव भेटिएको हो ।

असार ९ गते बिहान घरबाट हिँडेका पौडेलले महेन्द्र पुलस्थित सेती नदीमा हाम फालेको प्रहरीले निष्कर्ष निकालेको थियो । हराइरहेका पौडेल २१ दिनपछि मृतावस्थामा भेटिएका हुन् । पौडेलले ‘घरमा परिवारको लागि केही गर्न सकिन’ भनेर चिट लेखेर छाडेको परिवारले जनाएको थिए भने पौडेल हराएको भन्दै परिवारले प्रहरी कार्यालयमा खोजीका लागि निवेदन दिएको थियो ।

सेती नदी किनारमा तैरिरहेको अवस्थामा स्थानीयवासीले देखेपछि प्रहरीमा खबर गरेको भिमाद प्रहरी चौकीका सई ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

शव भेटिएको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर शव बाहिर निकालेको सई कार्कीले बताए । शव भेटिएको जानकारी पाएलगत्तै परिवारका सदस्य तथा आफन्तजन भिमाद पुगेर शव पहिचान गरी परीक्षणका लागि पोखरास्थित गण्डकी अस्पताल लगिएको छ ।

पौडेल हराएको लामो समय बितिसकेकाले शव गलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । पौडेलले ‘घरमा परिवारको लागि केही गर्न सकिन’ भनेर चिट लेखेर छाडेको परिवारले जनाएको छ ।