पोखरा महानगरको बजेट र प्राथमिकता (पढ्नुस् विस्तृतमा)

प्रकाश ढकाल
पोखरा, असार ११ ।
पोखरा लेखनाथ महानगरपालिकाले आउँदो आर्थिक वर्ष २०७५÷७६ का लागि साढे ६ अर्वको बजेट सार्वजनिक गरेको छ । महानगरका मेयर मानबहादुर जिसीले नीति तथा कार्यक्रम सहित ६ अर्ब ५३ करोड ६५ लाख रुपैयाँको बजेट नगरसभामा प्रश्तुत गरे । चालू बर्षमा ४ अर्व ३ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको महानगरले आगामी बर्षका लागि साढे २ अर्व रुपैयाँ थपेको छ । अनुमानित बजेटमध्ये ४ अर्व ३३ करोड ७५ लाख रुपैयाँ बाह्य आम्दानी छ भने १ अर्व ६९ करोड ९० लाख आन्तरिक आम्दानी तथा ५० करोड बैंक मौज्दात समेत जोडिएको छ । यद्यपी यसमा सामाजिक सुरक्षा भत्ताको रकम र राजश्व फिर्ता जाने बजेटलाई पनि समावेश गरिएको छ । ५३ करोड ८० लाख रुपैयाँ सामाजिक सुरक्षा भत्ता र राजश्व फिर्ता गर्नका लागि ४६ करोड विनियोजन गरिएको छ ।

पोखरा महानगरलाई नेपाल सरकारले वित्तीय समानीकरण शीर्षकमा ६१ करोड ४४ लाख रुपैयाँ विनियोजन गरेको छ भने सशर्त अनुदान तर्फ १ अर्व २० करोड रुपैयाँ छुट्याएको छ । विशेष अनुदान १५ करोड र राजश्व बाँडफाँटबाट ३४ करोड ६५ लाख रुपैयाँ महानगरले प्राप्त गरेको छ । उता प्रदेश सरकारबाट पनि वित्तीय समानीकरण अनुदान २ करोड ७४ लाख र राजश्व बाँडफाँटबाट ३ करोड २९ लाख रुपैयाँ पाएको छ ।

आउँदो बर्ष महानगरले सबैभन्दा धेरै पूर्वाधार विकासमा लगानी गर्ने जनाएको छ । बजेटमा पूर्वाधार विकासतर्फ २ अर्ब २३ करोड, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ३५ करोड ५१ लाख, सामाजिक विकासतर्फ ८५ करोड ४५ लाख, आर्थिक विकासतर्फ ४१ करोड ३७ लाख, संस्थागत विकास तथा सेवा प्रवाहतर्फ ३० करोड ६१ लाख विनियोजन गरेको छ । त्यस्तै पुँजी निर्माणतर्फ ५ करोड १० लाख, सामाजिक सुरक्षा भत्तातर्फ ५३ करोड ८० लाख, प्रशासनिक खर्चतर्फ १ अर्ब ३२ करोड रूपैयाँ विनियोजन जिसीले सुनाए । विभिन्न कोषहरूका लागि जम्मा २१ करोड रूपैयाँ छ भने ४६ करोड रूपैयाँ राजस्व फिर्ता गर्नुपर्ने रकम छ ।

पूर्वाधार विकास अन्तर्गत महानगर स्तरीय योजनाका लागि ५० करोड, सडक बोर्ड सम्बन्धी ब्यवस्थ गर्न ३ करोड, महानगरको गुरुयोजना तयार गर्न १ करोड, वडास्तरीय क्रमागत योजनाका लागि ३ करोड ४२ लाख, महानगरस्तरीय क्रमागत योजनामा १० करोड विनियोजन भएको छ । आगामी बर्ष महानगरले ओभरहेड व्रिज र सव वे समेत निर्माण गर्ने जनाएको छ । यसका लागि १ करोड रुपैयाँ र फिर्केखोला पैदलमार्ग निर्माणका लागि अर्को १ करोड छुट्याईएको छ । महानगरपालिका र अरु वडा कार्यालयको भवन बनाउन १५ करोड रुपैयाँ छ । आगामी बर्ष ग्रामीण सडकलाई महानगरको केन्द्रसँग जोड्ने योजना प्राथमिकताका साथ अघि सारिएको छ । कनेक्टिङ सडक भनेर ३० वटा बाटोलाई स्तरोन्नती गर्नका लागि ४० करोड रुपैयाँ विनियोजन गरिएको छ । यो कार्यक्रम २ बर्षभित्र सक्ने लक्ष्य छ । यस्तै शहरी सडक निर्माण तथा विस्तारका लागि ११ करोड छ । पोखरा सभागृहको मर्मत सम्भारका लागि ४ करोड बजेट छ । ५० प्रतिशत जनसहभागितामा आफ्नो टोल आफै बनाऔं कार्यक्रम गर्न एकमुष्ट २० करोड रुपैयाँ छुट्याईएको छ । महानगरभित्र सडक पुल निर्माण गर्न छुट्टै १५ करोड छ भने उज्यालो कार्यक्रमका लागि ४ करोड विनियोजन गरिएको छ । आगामी बर्ष विभिन्न वडामा ८ वटा पक्की पुल निर्माण गर्ने तयारी छ । मेयर नमुना पूर्वाधार योजना तथा स्मार्ट सडक बनाउन १५ करोड रुपैयाँ छ । यो कार्यक्रम पनि नयाँ हो । आगामी बर्ष महानगरभित्रको १६ किलोमिटर सडकलाई एटिएम, साईकल लेन र हरियाली सहितको सडक निर्माण गर्ने योजना छ ।

आगामी बर्षदेखि महानगरले नगरक्षेत्रका विद्युतीय तारलाई अण्डर ग्राउण्ड गर्ने कार्यक्रम पनि अघि सारेको छ । यसका लागि ६ करोड रुपैयाँ विनियोजन भएको छ । महानगरको नयाँ ल्याण्डफिल्ड साईटको अध्ययन गर्न ५० लाख, फेवातालमा सिल्ट्रेसन ड्याम बनाउन १५ करोड, ताल संरक्षण तथा गुरुयोजना तयार गर्न १ करोड, सार्वजनिक स्मार्ट शौचालय निर्माण गर्न १ करोड ५० लाख र शहीद तथा विभुती पार्क निर्माण गर्न २ करोड रुपैयाँ छुट्याईएको छ । विभुती पार्क बनाउन महानगरले पोखरा १८ जामुनाबोटमा काम थालिसकेको छ । आगामी बर्षको बजेटले युवालाई पनि समेटेको छ । ५० जना महिला उद्यमी तयार गरेर ५ सय जनालाई रोजगारी दिनेगरी कार्यक्रम चलाउन ५० लाख रुपैयाँ विनियोजन गरिएको छ भने महानगर स्तरीय युवा परिषद् गठन र सञ्चालन गर्न १ करोड रुपैयाँ बजेट छ । पोखरामा कार्यरत पत्रकारहरुको उपचार विमाका लागि महानगरले १० लाख रुपैयाँको कोष तयार गर्ने भएको छ । खर्चमा आधारित भएर यथार्थ बजेट प्रश्तुत गरेको मेयर मानबहादुर जिसी बताउँछन् ।