पोखरा महानगरको तेश्रो नगर सभा आज

पोखरा, असार १० गते ।

पोखरा लेखनाथ महानगरपालिकाले आगामी आर्थिक बर्ष २०७५÷७६ को नीति, कार्यक्रम र बजेट आज सार्वजनीक गदै छ । महानगरको तेश्रो नगर सभामा नीति, कार्यक्रम र बजेट ल्याउने छ । महानगरले पौने ६ अर्वको बजेट ल्याउने भएको हो । सबै प्रकारका अनुदान सहित महानगरको आन्तरिक आम्दानीले ५ अर्व ६५ करोड ६५ लाख ५५ हजार रुपैयाँको बजेट नगरसभामा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पेश गदैछन् ।

चालु आर्थिक वर्षमा महानगरले ४ अर्व ३ करोड रुपैयाँको ल्याएको थियो । महानगरले चाुल आर्थिक वर्षको भन्दा डेढ अर्व बढिको बजेट ल्याउदै छ । यो बजेट अघिल्लो बर्षभन्दा करिब १७ प्रतिशत बढी हो । यो बर्षको बजेट मध्ये १ अर्व ५० करोड रुपैयाँ प्रशासनिक खर्च छ भने बाँकी रकम पुँजीगत तर्फ छ । आगामी बर्ष पनि महानगरले सबैभन्दा धेरै पूर्वाधार विकासको क्षेत्रमा लगानी गर्दैछ । पूर्वाधार तर्फ १ अर्व ५७ करोड ८६ लाख रुपैयाँ विनियोजन गरिँदै छ भने आर्थिक विकासमा ७८ करोड ९३ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै सामाजिक विकासमा पनि ७८ करोड ९३ लाख, वातावरणमा ४७ करोड ३५ लाख र संस्थागत सुधार तथा सुशासन शीर्षकमा ३१ करोड ५७ लाख रुपैयाँ छ । बाँकी २१ करोड रुपैयाँ चाहीँ कोषहरुको ब्यवस्थापन गर्नका लागि विनियोजन गरिन लागेको महानगरले जनाएको छ । कूल बजेटमध्ये २ अर्व हाराहारीमा आन्तरिक श्रोतबाट आम्दानी गर्ने लक्ष्य राखिएको छ भने बाँकी रकम नेपाल सरकार, प्रदेश सरकार र अन्य संस्थाबाट विभिन्न शीर्षकमा अनुदान प्राप्त हुनेछ । नेपाल सरकारले पोखरा लेखनाथ महानगरपालिकाका लागि १ अर्व ८२ करोड रुपैयाँ विनियोजन गरेको छ भने प्रदेश सरकारले पनि ८० करोड हाराहारीमा बजेट महानगरलाई दिएको छ ।

महानगरले नक्सापास दस्तुर, ब्यवसाय कर र घरबहाल करलाई मुख्य आम्दानीको श्रोतको रुपमा प्रयोग गर्दै आएको छ । राज्य पुर्नसंरचनापछि जिल्ला विकास समितिलाई समन्वयको रुपमा मात्रै स्थापित गरेकोले यसअघि जिविसले सञ्चालन गर्दै आएको घाटगद्दी यसबर्षदेखि महानगरपालिका आँफैले सञ्चालन गर्नेछ । यसलाई पनि आन्तरिक आम्दानीको थप श्रोतको रुपमा ब्यवस्थित गरिएको छ । महानगरको सवै भन्दा बढि कर एकीकृत सम्पत्ति कर हो । जेठ अन्तिम सम्म सम्पत्ति कर ९१ प्रतिशत संकलन भएको छ । महागनले यस वर्ष कर नबढाउने तर दायर बनाउने नीति लिएको छ । महानगरमा जनप्रतिनिधि आएपछि कर संकलनमा बृद्धि भएको छ भने अघिल्लो वर्ष लगाइएको पर्यटन कर महानगरले संकलन गर्न सकेन् ।