पोखरा महानगरको अब्यवस्थित तार हटाउने अभियान, वडाध्यक्षको विरोध

पोखरा, मंसिर २६ ।
गत वर्षको चैत्र ९ गते बसको छतमा राखेर ल्याइएको हाते ट्याक्टर अमरसिंह चोक स्थित बिजुलीको तारमा झुण्डियो । तारमा ट्याक्टर झुन्डिएपछि निकाल्न समस्या भयो । अघिल्लो वर्षकै साउन २६ गते रानीपौवामा बिजुलीको तार चुडिएर सडकमा खस्दा मोटरसाईकलमा हुईंकिरहेका एक युवकको मृत्यु भयो । गएको साउन २ गते पोखराको गणेश टोलमा विजुलीको तार सर्ट भएर पोलमै आगलागी भयो ।

विजुलीका तार अब्यवस्थित भएर दिनहुँ दुर्घटना हुन थालेपछि पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष शंकरप्रसाद बास्तोलाले अब्यवस्थित तार हटाउने अभियान सुरु गरे । आफ्नो वडाभित्र रहेका विजुली, फोन, केवुल लगायत तारका गुजुल्टा फ्याँकेर केही ठाउँमा उघारो बनाएका छन् बास्तोलाले ।

अहिले ४ नम्बर वडालाई नै पोखरा महानगरले फलो गरेर महानगरभित्रका अब्यवस्थित तार काट्ने अभियानको तयारी गरेको छ । विहिबार पोखरा ४ विपिचोकबाट थालनी हुने भनिएको अभियानबारे आफुँलाई नै जानकारी नदिएको वडाध्यक्ष बास्तोलाले गुनासो गरे । विपिचोक पनि बास्तोलाकै वडाभित्र पर्छ ।

‘अभियानको थालनी मैले गरें । कार्यपालिका देखि नगरसभासम्म मैले आवाज उठाएँ । महानगरले मतलव नगरेपछि मैले वडाकै बजेटबाट काम गरेको हुँ, उनले भने–अहिले मेरै वडामा काम गर्न समिति बनाईएछ । तर मलाई नै जानकारी छैन ।’ राजनीतिक पुर्वाग्रह राखेर महानगर प्रचारको पछि लागेको उनले आरोप लगाए । अभियान सफल बनाउनका लागि महानगरका उपसचिव गंगालाल सुवेदीको संयोजकत्वमा तार ब्यवस्थपान सहजिकरण समिति गठन गरिएको छ ।

मेयर मानबहादुर जिसी र प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेल सहितको उपस्थितिमा भएको बैठकले नेपाल टेलिकमका शेषकान्त बस्याल, नेपाल विद्युत प्राधिकरणका इन्जिनियर आनन्द सापकोटा, एनसेल नेपाल सुवोध रेग्मी, वाराहि ईन्टरनेट सुरेन्द्र बहादुर थापा, सोमराज गुरुङ, टेलनेट प्रा.लिका बिनोद हुमागाई, पोखरा केवलका मनोज गुरुङ, पोखरा ईन्टरनेटका अजित तामाङ, वर्डलिङक कम्यूनिकशन विनोद के.सी., महानगरका नगर प्रहरी असई पुरुषोत्तम थापा, सूचना प्रविधि अधिकृत अशोक द्धारे सदस्य छन् ।

महानगरले पहिलो चरणमा सिद्धार्थ चोक–विपीचोक–न्यूरोड–सभागृह चोकको तार ब्यवस्थिगत गर्ने महानगरले जनाएको छ । विहिबार विपीचोकबाट तार अभियान सुरु गरिने मेयर जिसीले बताए ।

File Photo