पोखरा दुर्घटनाका छन्त्यालको निधन, सकियो स्थायी शिक्षक बन्ने सपना !

पोखरा, असार १४ ।
बुधबार साँझ पोखराको मालेपाटनमा भएको दुर्घटनामा परी घाईते भएका धनबहादुर छन्त्यालको पनि निधन भएको छ । गम्भीर घाईते भएका उनको पोखराको मनिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको थियो ।

तर चोट गम्भीर भएकोले बचाउन नसकिएको अस्पतालले जनाएको छ । बुधबार साँझ ग १ ख २८९६ नम्बरको पानी बोक्ने ट्यांकरसँग ध १ प ५०२१ नम्बरको बाईक ठक्कर खाँदा बाईक चालक छन्त्याल घाईते भएका थिए भने पछाडी बस्ने बृन्दा थापाको घटनास्थलमै मृत्यु भएको थियो ।

छन्त्याल म्यादी मंगला गाउँपालिका ४ का शिक्षक हुन् भने थापा अन्नपूर्ण गाउँपालिका म्याग्दी घराम्दी आधारभुत विद्यालयकी शिक्षिका हुन् ।

शवलाई पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको स्थानीय रवी कार्किले बताए । घटनामा संलग्न ट्यांकर चालक प्रहरी नियन्त्रणमा छन् ।

उनीहरु शिक्षक लोकसेवा तयारी परीक्षाको लागि पढ्न आएका थिए । सरकारले शिक्षकको परीक्षाको मिति समेत तोकिसकेको छ । अधिकांश अहिले फाराम भरेर ट्युसन पढिरहेका छन् ।

शिक्षकको ट्युसन पढेर निस्किँदै गर्दा दुर्घटना भएको जनाईएको छ । उनीहरुको स्थायी शिक्षक बन्ने सपना टुंगिएको छ ।