पोखरा एयरपोर्ट–मन्त्रीका पटके शिलान्यास, भिआईपीका निर्देशन

पोखरा, भदौ ६ ।
पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम २०७३ बैशाखदेखि सुरु भयो । तत्कालीन (हालका पनि) प्रधानमन्त्री केपी शर्मा ओलिले पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला सहित सबैजसो दलका प्रमुख तथा प्रतिनिधी र नेताहरुको उपस्थितीमा शिलान्यास गरेका थिए । करिब साढे २ बर्ष भैसक्यो निर्माणको काम १५ प्रतिशतबाट केही उकालो मात्रै लागेको छ ।

एकथरी विमानस्थलका लागि भन्दै जग्गा अधिग्रहणको होहल्ला पनि फिँजाईरहेका छन् । स्थानीयले सरकारले मनपरी गर्ने अधिग्रहणको विरोध गरेका छन् । नागरिक उड्ययन प्राधिकरणले नै निजी कम्पनीलाई ह्यांगर निर्माण र पेट्रोलियम भण्डारणको लागि जग्गा मिलाईदिन भन्दै वडा कार्यालयलाई आग्रह गरेको हो ।

दुई चरणमा जग्गा अधिग्रहण सकेरै निर्माण थालनी भएको विमानस्थल पटक पटक विवादमा तानिन्छ, त्यो पनि भिआईपीको अभिब्यक्ति र क्रियाकलापले । लामो समयको विवाद र चुनौती पार गर्दै निर्माणको चरणमा प्रबेश गरिसकेपछि पनि विगत दोहोरिरहेको छ । केही समय अघि नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले गठन गरेका विज्ञ समूहले पोखरा विमानस्थल निर्माणको औचित्यतामाथी प्रश्न गर्दै केही सुझाव दिए ।

त्यतिबेला पनि राम्रैसँग तात्यो पोखरा । केही अगुवाहरु बिज्ञप्ती सहित मन्त्रीलाई भेट्नै पुगे । घटना सेलाउन नपाउँदै थप जग्गा अधिग्रहणका कुरा सुरु भयो । सडकदेखि सदनसम्म चर्का बहस र छलफल भए । यति धेरै समस्याका बीच निर्माणमै चिन्ता बढिरेको अवस्थामा समस्या समाधान गर्नुभन्दा भिआईपीहरु चाहीँ अनुगमन र निरीक्षण भन्दै २–४ थान भाषण ठोक्ने र शिलान्यास गर्नेमै ब्यस्त छन् ।

केही सांसदहरु निर्वाचित हुने वित्तिकै विमानस्थल पुगे । त्यसपछि मन्त्री बनेपछि उसैगरी विमानस्थल पुगे र आयोजना निर्माण कम्पनीलाई छिटो काम सक्न निर्देशन गरे । सरोकार भएपनि आफ्नो क्षेत्राधिकार बाहिर गएर कम्पनीलाई निर्देशन गर्ने होड अझै कायमै छ । स्थानीय तहका जनप्रतिनिधीदेखि प्रदेश सरकार, प्रदेश सांसद, प्रतिनिधीसभाका सांसद, केन्द्रिय मन्त्रीसम्म पोखरा एयरपोर्ट पुगेर निर्देशन दिन भ्याउँछन् । तर पछिल्लो समय त्यसको पनि अधिक गुनासो सुनिन थालेको छ ।

एकपटक शिलान्यास भैसकेको विमानस्थल भित्र अहिले अर्को शिलान्यास गरिएको छ । मन्त्री रवीन्द्र अधिकारीले बुधबार विमानस्थलको टर्मिनल भवन निर्माणको शिलान्यास गरेका हुन् । पटकै पिच्छे शिलान्यास गर्नु आवश्यक नरहेको भन्दै केही ब्यक्तिहरुले चाहीँ शिलान्यास भन्दा समस्या समाधानमा चासो देखाउन सुझाएका छन् ।