पोखरा एयरपोर्ट कसैको ताकतले रोक्न सक्दैन–पोखरेली

पोखरा, जेठ २५ ।
विज्ञ समूहले पोखरा विमानस्थल निर्माणबारे निकालेको प्रतिवेदन विकास विरोधी भएको पोखरेलीको टिप्पणी छ । पोखराका उद्योगी ब्यवसायी सहित पर्यटन र राजनीतिकर्मीहरुले कुनैपनि बाहनामा एयरपोर्टको निर्माण नरोक्न सरकारसँग आग्रह गरेको छ । पर्यटन मन्त्रालयले गठन गरेको विज्ञ समूहले पोखरामा जेट विमान अवतरण गराउन नसकिने भन्दै विमानस्थल अन्तराष्ट्रिय उडानका लागि अयोग्य भएको प्रतिवेदन पेश गरेको थियो । पोखराको हवाई चापले पोखरा विमानस्थल सजिलै आत्मनिर्भर हुन कठीन हुने र लामो समयसम्म घाटामा विमानस्थल चलाउनुपर्ने भन्दै विमानस्थल निर्माणमा पुनःविचार गर्न समूहको सुझाव थियो ।

तर पोखरेलीेले चाहीँ पोखराको हित नचाहने समूहले विमानस्थल रोक्ने कुचेष्टा गरेको आरोप लगाएका छन् । ‘काठमाण्डौंका विज्ञ कर्मचारी र पर्यटन ब्यवसायीले पोखराको हित चिताएका छैनन् । त्यसकै प्रतिविम्ब यो प्रतिवेदन हो, नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले भने–हाम्रा मन्त्रीजी पनि त्यसकै भासमा पर्नुभएको छ । पोखरेलीलाई कुनैपनि हालतमा यो मान्य छैन ।’ विमानस्थल निर्माण चरणमा पुगिसकेको भन्दै कसैले पनि रोक्न नसक्ने उनको भनाई छ । ‘पर्यटनमन्त्रीको काम विज्ञ समूह गठनमा सबै छर्लङग छ । गलत मान्छेलाई समूहमा राखेर अहित हुने काम सरकार र मन्त्रीहरुले गरेका छन्, उनले थपे–अव ओलिले पनि यो प्रोजेक्ट रोक्न सक्दैन, मन्त्री त परको कुरा । मन्त्रीहरुले केही ढिलाई चाहीँ गर्न सक्लान् ।’

नेपाली काँग्रेसका सभापति कृष्ण केसीले विमानस्थल निर्माणमा राजनीति नगर्न चेतावनी दिए । ‘हामी अहिले प्रतिपक्षमा छौं । तर कहिलै चर्को बोल्दैनौं, उनी भन्छन्–बिषयले बाध्यताबश काँग्रेसलाई चर्को बनाएको छ । विमानस्थल रोक्ने काम भए सरकारले ठूलो मूल्य चुकाउनुपर्ला ।’ विमानस्थल विरोधीलाई परास्त गर्न पोखरेली समूदाय पुनः एक पटक उठ्नुपर्ने उनको भनाई छ । दुईबर्षअघि देखि निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थलमा बखेडा झिकेर निर्माणमा अवरोध गर्न खोजिएको भन्दै उनले भाँजो नहाल्न चेतावनी दिएका छन् ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखले पोखराको विरुद्ध जत्था खडा गरिएको आरोप लगाए । ‘सँधै पोखराको विपक्षमा आवाज उठाउनेलाई कथित विज्ञ समूहमा राखेर एयरपोर्ट निर्माणलाई कमजोर बनाउन खोजिएको छ । सोही विज्ञ समूहले निकालेको प्रतिवेदन पनि सही होईन भन्दै सरकारले झुक्याउन खोजेको छ, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले भने–प्रतिवेदन नियतबश आएको छ । साना बडीको जहाज पनि ल्याण्ड गर्न मिल्दैन भन्नु नै विमानस्थल निर्माण नगर भन्नु हो । यो पोखरेलीलाई मान्य छैन ।’ एयरपोर्टको बिषयमा बाहिरिएको रिपोर्टप्रति पर्यटन मन्त्रालय र पर्यटन मन्त्री रवीन्द्र अधिकारीले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने उनको भनाई छ ।
नेकपाका केन्द्रिय सदस्य राजकाजी गुरुङले पोखराप्रति काठमाण्डौंको हेपाहा प्रबृत्ति जीवितै रहेको बताए । ‘कति साना र कमजोर भूमिमा पनि ठूला विमान ल्याण्ड हुने विमानस्थल बनेका छन्, उनले भने–पोखरामा कुनै समस्या छैन । सबै पोखराको विकास विरोधी आवाज हो ।’ कुनैपनि हालतमा विमानस्थल निर्माण रोकिन नहुने भन्दै उनले अवरोध पन्छाएर निर्माण कार्य पूरा गर्न आग्रह गरे । ‘एयरपोर्ट कसरी सम्पन्न गर्ने भनेर छलफल गर्ने हो । निर्माण सम्भव छैन भनेर बखेडा निकाल्ने हैन, काँग्रेस नेता प्रकाश खनाल भन्छन्–बिभागिय मन्त्री नै पोखराको हुँदा छिटो निर्माण हुनुपर्नेमा विज्ञ समूह भन्दै अवरोध झिक्नु गलत मनसाय हो । यसको पोखरेलीले विरोध गर्नुपर्छ ।’ सरकारले नै राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि सारेर काम गरेको अवस्थामा सरकारकै विज्ञ समूहले विकास विरोधी प्रतिवेदन सार्वजनिक गर्नु दुर्भाग्यपूर्ण भएको उनको भनाई छ । उनले विमानस्थलमा प्राविधिक र आर्थिक कुनैपनि दृष्टीकोणले योग्य अयोग्य छुट्याउने समय नरहेको भन्दै निर्माण सम्पन्न गर्नुको विकल्प नभएको बताए ।

पोखराका अन्य सरोकारवालाले पनि कुनै ताकतले विमानस्थल रोक्न नसक्ने चेतावनी दिएका छन् । ‘मन्त्री रिसाए केही समय ढिलो हुन सक्ला । तर विमानस्थल नै रोकिने भन्ने हुँदैन, उनीहरुले भने– रवीन्द्र अधिकारीलाई बचाउनका लागि एयरपोर्ट तिलान्जली दिन सक्दैनौं । कसैको तागतले पनि छेक्न सक्दैन । त्यसको सामना पोखरेलीले गर्न सक्छन् ।’