पोखरा एयरपोर्टमा विज्ञ समूहले रवैया देखायो–होटल संघ

पोखरा, जेठ २५ ।
पोखरामा निर्माणाधिन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूला जहाजको व्यावसायिक उडान हुन नसक्ने भनी प्रतिवेदन दिने पर्यटन मन्त्रालयद्वारा गठित विज्ञ समूहको कार्यशैलीप्रति पश्चिमाञ्चल होटल संघ पोखराले खेद प्रकट गरेको छ । संघका अध्यक्ष विकल तुलाचनले शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञहरुले सबै हिसावले पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमास्थलको सान्दर्भिकता पुष्टि गरी काम समेत जारी भएको बेला त्यस्तो प्रतिवेदन आउनु आपत्तीजनक भएको जनाएका छन् ।

मध्य नेपालका बासिन्दाको झण्डै साडे चार दशक लामो विमानस्थल सम्बन्धि सपना पूरा हुने दिशामा अगाडि बढ्दै गर्दा हल्का ढंगले विज्ञ समूहको नाममा आएको प्रतिवेदनले यस क्षेत्रका बासिन्दालाई दुःखित बनाएको मात्र नभई देशको समृद्धि सपना माथि नै प्रहार गर्ने काम भएको संघले ठम्याएको जनाइएको छ । पोखरामा नयाँ विमानस्थल बनाउन संघ लगायत सम्पूर्ण पोखरेली र वरपरका जिल्लाबासीले समेत लामो संघर्ष गरेको स्मरण गराउँदै विज्ञताको नाममा विमानस्थल विरुद्ध भ्रम सिर्जना गर्ने खालको हल्का प्रतिवेदन दिएर विज्ञ समूहले गैरजिम्मेवार काम गरेको समेत अध्यक्ष तुलाचनले जनाएका छन् ।

पोखराकै रविन्द्र अधिकारी पर्यटन मन्त्री भएको अवस्थामा उनैको पहलमा गठन भएको विज्ञ समूहले यसप्रकारको प्रतिवेदन दिनु दुःखद भएको पनि संघले जनाएको छ । पोखरा र यसवरपरको क्षेत्र पर्यटकीय क्षेत्र भएको, होटल लगायत अन्य पर्यटकीय पूर्वाधारहरु बन्दै गरेको, सडक संजाल विस्तार हुँदै गएको र लाखौं पर्यटक नेपाल अनि पोखरा भित्र्याउने लक्ष्य पछिल्लो राष्ट्रिय बजेटले समेत लिएको अवस्थामा सतही र भ्रमपूर्ण प्रतिवेदन दिने विज्ञ समूहको भित्री नीयत बुझी त्यस्तो प्रतिवदेन दिनेउपर सरकारले कार्वाही अगाडि बढाउनुपर्ने माग समेत संघले गरेको छ ।