पोखरा उवासंघ चुनाव–नेकपा निकट प्यानल घोषणा

पोखरा, भदौ १७ ।
पोखरा उद्योग बाणिज्य संघको आसन्न चुनावका लागि नेकपा निकट ब्यवसायीहरुले प्यानल घोषणा गरेका छन् । आईतबार पत्रकार सम्मेलन गरी उम्मेद्वारहरु सार्वजनिक गरिएको हो । ब्यवसायिक समाबेशी समूह नाम दिईएको प्यानलको अध्यक्षमा हालका महासचिव दामु अधिकारी छन् भने बरिष्ठ उपाध्यक्षमा यदुनाथ अधिकारी, उद्योगतर्फको उपाध्यक्षमा गीता तिवारी गौतम र बाणिज्य तर्फको उपाध्यक्षमा यमनाथ पौडेल उम्मेदवार बन्दैछन् । यसअघि देवकृष्ण काफ्लेको नाम बाणिज्य उपाध्यक्षमा आएपनि उनले छोडेका कारण पौडेललाई अघि सारिएको बताईएको छ ।

यस्तै महासचिवमा किसान सुनार, कोषाध्यक्षमा प्रेम भुजेल र उपमहासचिवमा सीता बरालले उम्मेदवारी दिनेछिन् । सदस्यहरुमा नारायण पौडेल, डिवि भुजेल, पवित्रा गुरुङ, तेजेन्द्र पौडेल, सोवित पौडेल, नगेन्द्र सुवेदी, नगेन्द्र पोख्रेल, चन्द्रा शर्मा, उमराज बास्तोला र रुद्र लुईंटेल छन् । उद्योग बाणिज्य संघमा २४ जना प्रत्यक्ष निर्वाचनबाट निर्वाचित हुनेछन् । बाँकी सदस्यहरुलाई स्वतन्त्र छोडिएको अधिकारीले बताए ।

अध्यक्षका प्रश्तावित उम्मेदवार अधिकारीले पोखरा उद्योग बाणिज्य संघमा राजनीति घुसेको भन्दै संघलाई उद्योगी ब्यवसायीको साझा संस्थाको रुपमा स्थापित गरिरहनुपर्ने बताए । ‘निजी क्षेत्रको साझा संस्थामा राजनीति गर्नुहुँदैन भन्ने आवाज हामीले विगतदेखि नै उठाएका हौं । र आगामी दिनमा पनि संघभित्र प्रत्यक्ष राजनीति गरिन्छ भने हामीलाई सह्य छैन, उनले भने–नचाहँदा नचाहँदै प्रत्यक्ष राजनीति घुसेको छ । यसप्रति हामी चिन्तित छौं ।’

कुनै ब्यक्तिले कुनै पार्टीमा भोट हालेको आधारमा मात्रै पार्टीको ट्याग लगाउन नमिल्ने उनी बताउँछन् । आफु कुनैपनि पार्टीको जिम्मेवारीमा बसेर काम नगरेको भन्दै उनले साझा संस्थामा पार्टीको झण्डामा भोट मागेर चुनाव जितेकाहरु उम्मेदवार बन्दा राजनीति प्रबेश हुने बताए ।

समूहले केही प्रतिबद्धताहरु पनि सार्वजनिक गरेको छ । सहजपूर्वक उद्योग ब्यवसाय सञ्चालन गर्न पाउने वातावरण सिर्जना गर्ने, सामाजिक उत्तरदायित्वपूर्ण व्यवसायलाई ध्यान दिएर आर्थिक विकासमा हातेमालो गर्ने, संघ, प्रदेश र स्थानीय सरकासँग समन्वय गर्दै ब्यवासायिक क्षेत्रमा देखिएका समस्या समाधान गर्ने, पोखरालाई कृषि, पर्यटन र मझौला उद्योगको हव बनाउने र अन्तराष्ट्रिय बजारको रुपमा विकास गर्ने, पोखरालाई शिक्षा, स्वास्थ्य र पर्यटनको शहरको रुपमा विकास गर्ने, ब्यवसायीहरुको क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने लगायतका योजना अघि सारिएको छ ।

प्रशासनिक र कर प्रशासनले कहिलेकाहीँ समस्या पार्ने गरेको भन्दै त्यसबाट मुकाविला गर्ने, पोखराको खानेपानी शुद्धिकरण र सौर्य सडक बत्ति परियोजनालाई निरन्तरता दिने, पोखराका पार्किङ ब्यवस्थापनमा सहयोग गर्ने, प्रदेश स्तरको औद्योगिक क्षेत्र निर्माणमा सहयोग गर्ने लगायतका कार्यक्रम पनि प्यानलले ल्याएको छ । अध्यक्षका प्रत्यासी अधिकारीले उद्योग बाणिज्य संघका बहुमत पूर्व अध्यक्षहरुको साथ आफ्नो प्यानलमा भएको भन्दै चुनाव जित्ने विश्वास ब्यक्त गरे ।