पोखरा उवासंघ चुनाव–दामु प्यानलका दुईजनाको म्याद पुगेन, उम्मेदवारी के होला ?

पोखरा, असोज १ ।
पोखरा उद्योग वाणिज्य संघमा उम्मेदवारी दिन फर्म दर्ता भएको कम्तिमा दुई बर्ष पूरा हुनुपर्ने प्रावधान छ । संघको विधानको परिच्छेद ९ मा भनिएको छ–‘कम्तीमा दुई बर्ष अगाडी साधारण सदस्य र कर्पोरेट सदस्य भएकाहरुले मात्र निर्वाचनमा उमेदवार बन्न पाउनेछन् । तर वस्तुगत र औद्योगिक सदस्यको व्यवस्था यसै बर्षदेखि गरिएकोले २०७३ असार मसान्तसम्म सदस्यता प्राप्त गरेकोहरुले विधान संशोधनपछिको पहिलो निर्वाचनमा उम्मेदवार हुन पाउने छन् । त्यसपछिको हकमा सबै सदस्यहरु यसै दफा अनुसार निर्वाचनमा उम्मेदवार हुनुपर्ने छ ।’

विधान संशोधनपछिको पहिलो कार्यकाल पनि पूरा भैसकेको छ । यसबर्षको चुनावमा उम्मेदवार हुनेले उद्योग बाणिज्य संघमा फर्म दर्ता गरेको कम्तीमा दुई बर्ष पूरा हुनुपर्छ । सोही नियमलाई टेकेर निर्वाचन कमिटीले दुईजना सदस्यको उम्मेदवारी खारेज गरिदियो । शोभा गौतम र रामप्रसाद गौतमको उम्मेदवारी दिने समय नपुगेको भन्दै रद्द भयो । विपक्षीले दावी विरोध गरेपछि उनीहरुको उम्मेदवारी खारेजीमा परेको हो । उनीहरु दुवैजना रवीन्द्रबहादुर प्रजु प्यानलका हुन् ।

उस्तै प्रकृतिका थप दुईजनाको उम्मेदवारी भने कमिटीले खारेज गरेन । उद्योगतर्फकी उपाध्यक्षको उम्मेदवार गीता तिवारी र सदस्यको उम्मेदवार चन्द्रा शर्मा उम्मेदवारका लागि अयोग्य भएपनि कमिटीकै कमजोरीका कारण उम्मेदवारी खारेज भएन । तिवारीले २०७४ साल जेठ २१ गते समृद्धी हस्तकला उद्योगलाई उद्योग बाणिज्य संघमा दर्ता गराउन निवेदन दिएकी थिईन् भने शर्माले २०७४ फागुन ९ गते वि एण्ड वि किराना स्टोर्स दर्ता गर्न निवेदन बुझाएकी हुन् । तिवारीको निवेदन परेको १५ महिनामात्रै पूरा भएको छ भने शर्माको ६ महिनामात्रै कटेको छ । तिवारी यसअघि बाणिज्यतर्फबाट उद्योग बाणिज्य संघको सदस्य निर्वाचित भएकी थिईन् । वाणिज्यतर्फको सदस्यताले उद्योगतर्फ उम्मेदवारी दिन नपाईने ब्यवस्था छ । दुवैजना दामु अधिकारी प्यानलका हुन् ।

निर्वाचन कमिटीका संयोजक तीर्थ श्रेष्ठले दावी विरोध नपरेकोले छानवीन नगरेको बताए । ‘दावी विरोध गरेको अवस्थामा मात्रै हामीले हे¥यौं । अरु हेर्ने हाम्रो काम हैन र हेदैनौं, उनले भने–भोलि निर्वाचनपछि उजुरी परे अदालतले निर्णय गर्नेछ । त्यस विषयमा हामीले केही भन्न सक्दैनौं ।’ दावी विरोधको म्यादभित्र कसैको दावी नपरेकोले उम्मेदवारका लागि योग्य भएको उनी बताउँछन् ।

उद्योग उपाध्यक्षकी उम्मेदवार विन्दु कोइराला सुवेदीले निर्वाचन कमिटीले गम्भिर त्रुटी गरेको बताईन् । ‘हामीलाई थाहा थियो तर निर्वाचन कमिटीले हटाउँछ भन्ने सोचेर विरोध गरेनौं । दावी विरोध परेन भनेर निर्वाचन कमिटी उम्किन मिल्दैन, उनले भनिन्–अघिल्लो असार २८ गते सदस्यता विकास समितिका अध्यक्ष दामु अधिकारी जीले सदस्यता दिनुभएको हो । अहिले जानाजान अयोग्य ब्यक्तिलाई बोकेर हिड्नुभएको छ । यसप्रति घोर विरोध छ ।’

अर्की उम्मेदवार गीता तिवारीले चाहीँ चुनावी बखेडा मात्रै भएको प्रतिक्रिया दिएकी छिन् । ‘म पहिले पनि कार्यसमितिमा काम गरिसकेको मान्छे । मेरो फिल्डमा उद्योग छ । दर्ता पनि गरेको छु । अर्को उद्योग पनि दर्ता छ, उनले भनिन्–निर्वाचन कमिटीले पास गरेको कुरामा बखेडा झिकेर कुनै तुक छैन । मैले गल्ती गरेको भए पहिले नै दावी विरोध किन गरिएन ?’ निर्वाचन कमिटिले बनाएको नीति नियम पार गरिसकेकोले आँफु योग्य रहेको उनको दावी छ ।

उद्योग बाणिज्य संघका हालका अध्यक्ष विश्वशंकर पालिखेले यसबारे आँफू केही पनि नबोल्ने बताए । ‘दावी विरोध गरेको भए स्वतः निर्णय हुने थियो । तर कसैले दावी विरोध गरेनन्, उनले भने–निर्वाचन कमिटिले पनि हेर्नुपर्ने हो, हेरेनछ ।’ उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेपछि निर्वाचन कमिटीले केही गर्न नमिल्ने उनी बताउँछन् ।

केही जानकारहरु चाहीँ चुनाव जितेपनि गलत भए फिर्ता हुने बताउँछन् । ‘चुनावमा केही कमजोरी हुन सक्छ । तर चुनाव नै जितेपनि मापदण्ड नपुगेको भए पछि फिर्ता हुन सक्छ, उनीहरु भन्छन्–निर्वाचन कमिटीले यस्ता कुरा पहिले नै ध्यान दिनुपथ्र्यो ।’