पोखरा उवासंघको चुनावमा राजनीतिक प्यानल (कुन प्यानलमा को उम्मेदवार ?)

पोखरा, भदौ १४ ।
पोखराकै जेठो संस्थाको रुपमा स्थापित पोखरा उद्योग बाणिज्य संघको आफ्नो छुट्टै गरिमा छ । हालसम्म राजनीतिकरण नभएको यो संस्था सामाजिक र ब्यवसायीहरुको साझा संस्था हो । निजी क्षेत्रको छाता संस्था भएकोले ब्यवसायीहरु सामुहिक प्रतिनिधित्व गर्दै चुनावमा सहभागी हुन्थे । यस अघिपनि संघभित्र राजनीति नभएको भने होईन तर यसपालि बाहिरै देखिने गरी राजनीति सुरु भएको छ ।

अघिल्लो बर्षसम्म पनि आफुँलाई मन परेको प्यानलबाट चुनावमा प्रतिश्पर्धा गरेकाहरु थुप्रै थिए । तर यसपालि प्यानल नै राजनीतिक हिसावले अघि बढेको छ । काँग्रेस र कम्युनिष्टको छुट्टाछुट्टै प्यानल घोषणा गर्ने तयारी भैरहेको छ । लगभग आन्तरिक तयारी पूरा भएको श्रोतको भनाई छ ।रवीन्द्रबहादुर प्रजुले काँग्रेसतर्फको प्यानललाई हाँक्दैछन् भने दामु अधिकारीले कम्युनिष्ट प्यानलको नेतृत्व गरेका छन् । प्रजू प्यानलबाट काँग्रेसको प्रतिनिधित्व गर्दै वरिष्ठ उपाध्यक्षमा नारायण कोइराला उठ्नेछन् भने उनको प्रतिस्पर्धी बन्न नेकपाको प्रतिनिधित्व गर्दै यदु अधिकारी आइपुगेका छन् ।

उद्योगतर्फको उपाध्यक्षमा काँग्रेस निकटबाट विन्दु कोइराला सुवेदीले दावेदारी प्रश्तुत गरेकी छिन् भने उनको प्रतिश्पर्धीको रुपमा नेकपा निकटबाट गीता तिवारी अघि सरेकी छिन् । वाणिज्य उपाध्यक्षमा काँग्रेस प्यानलबाट पवन प्रजापती र नेकपा प्यानलबाट देवकृष्ण काफ्ले उम्मेदवारी बन्ने तयारीमा छन् ।

महासचिवमा काँग्रेसतर्फबाट अर्जुन पोख्रेल र नेकपा तर्फबाट किसान सुनार प्रतिश्पर्धा गर्दैछन् । कोषाध्यक्षमा काँग्रेसका सुरेन्द्रमान विजुक्छे र नेकपाका प्रेम भुजेलले दावेदारी दिएका छन् । उपमहासचिवमा काँग्रेस निकट प्यानलबाट चिनु गुरुङ र नेकपा निकट प्यानलबाट सीता बरालबीच प्रतिश्पर्धा हुनेछ ।गत महाधिवेशनमा जस्तै यस पटक पनि संशोधित विधान अनुसार संघको नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदैछ । ३०औं अधिवेशनसम्म अध्यक्षात्मक प्रणालीमा निर्वाचन हुँदै आएको संघमा ३१औं महाविधेशनबाट सबै पदमा खुल्ला प्रतिस्पर्धा सुरु भएको हो । वरिष्ठ उपाध्यक्ष, उद्योगतर्फको उपाध्यक्ष, वाणिज्यतर्फको उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्षका लागि प्रत्यक्ष निर्वाचन हुनेछ ।

२९ सदस्यीय कार्यसमितिमा निवर्तमान अध्यक्ष र सात जना पदाधिकारीबाहेक २१ जना सदस्य रहनेछन् । ती सदस्यमध्ये ४ जना वस्तुगत संघबाट मात्र निर्वाचित हुनेछन् भने २ जना कर्पोरेट सदस्यबाट निर्वाचित हुनुपर्नेछ । १ जना औद्योगिक सदस्य निर्वाचित हुनेछन् भने १० जना सदस्य खुला निर्वाचित हुनेछन् । ४ सदस्य अध्यक्षले मनोनित गर्ने व्यवस्था छ ।

संघमा ३ हजार ३ सय ७७ जना मतदाता छन् । साधारण सदस्य ३ हजार १ सय ७१ जना, कर्पोरेट सदस्य ६८ जना, औद्योगिक सदस्य १ सय १० जना र बस्तुगत सदस्य २८ जना छन् ।