पोखरा उद्योग वाणिज्य संघको चुनाव असोज पहिलो साता (को छन् आकांक्षी ?)

पोखरा, साउन २९ ।
पोखरा उद्योग वाणिज्य संघको ३२ औँ महाधिवेशन आउँदो असोजको ५ र ६ गते हुने भएको छ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेको अध्यक्षतामा मंगलबार बसेको कार्यसमितिको २८ आँै बैठकले महाअधिवेशनको मिति तय गरेको हो ।

अधिवेशनले संघको नयाँ नेतृत्व चयन गर्नेछ । यसैगरी बैठकले महाधिवेशनअन्तर्गत हुने निर्वाचन कार्यक्रमको लागि पूर्व कार्यसमिति सदस्य तीर्थ श्रेष्ठलाई निर्वाचन उपसमिति संयोजक चयन गरेको महासचिव दामु अधिकारीले जानकारी दिए ।

निर्वाचन उपसमितिका बाँकी सदस्य संयोजकबाट नै मनोनयन गरिनेछ भने निर्वाचन समितिले नै निर्वाचनका थप कार्यक्रमहरु तय गर्नेछ ।

यसपटकको महाधिवेशनको चुनावी सरगर्मी बाहिर नदेखिएपनि आन्तरिक छलफल निरन्तर भैरहेको छ । अध्यक्षमा हालका महासचिव दामु अधिकारी सहित अघिल्लो चुनावमा अध्यक्षका प्रत्यासी नारायण कोइराला र हालकी उपाध्यक्ष विन्दु कोइराला सुवेदीको चर्चा छ । अरु पदमा खासै प्रचार भैसकेको छैन । हालका उपमहासचिव अर्जुन पोख्रेलले यसअघि नै महासचिव पदमा उम्मेदवारी दिने सार्वजनिक घोषणा गरिसकेका छन् ।