पोखरा उद्योग बाणिज्य संघको चुनाब चल्दै, कसले जित्ला ?
पोखरा, असोज ६ ।
पोखरा उद्योग बाणिज्य संघको ३२ औं अधिवेशन जारी छ । शुक्रबार देखी शुरु भएको अधिवेशन अन्तरगत आज चुनाब हुदैछ । यो चुनाबबाट २ बर्षका लागि नयाँ कार्यसमिति चयन हुनेछ । निर्वाचन विहान ८ बजे देखी दिउँसो ४ बजे सम्म सञ्चालन हुनेछ । यो बर्षको चुनाव दुई पार्टी बीचको प्रतिश्पर्धाको रुपमा हेरिएको छ ।
हालका बरिष्ठ उपाध्यक्ष रवीन्द्रबहादुर प्रजु र महासचिव दामु अधिकारी बीच नेतृत्वमा प्रतिश्पर्धा हुन लागेको छ । प्रजुले काँग्रेस निकट ब्यवसायीको नेतृत्व गरेका छन् भने अधिकारीले नेकपा निकटको ।
प्रजु प्यानलबाट बरिष्ठ उपाध्यक्षमा नारायण कोइराला, बाणिज्य तर्फको उपाध्यक्षमा पवन प्रजापति, उद्योगतर्फको उपाध्यक्षमा विन्दु कोइराला सुवेदी, महासचिवमा अर्जुन पोख्रेल, कोषाध्यक्षमा सुरेन्द्रमान बिजुक्छे र उपमहासचिवमा चिनु गुरुङ प्रतिश्पर्धामा छन् ।
अधिकारी प्यानलबाट बरिष्ठ उपाध्यक्षमा यदु अधिकारी, बाणिज्य उपाध्यक्षमा यामनाथ पौडेल, उद्योग उपाध्यक्षमा गीता तिवारी, महासचिवमा किसान सुनार, कोषाध्यक्षमा प्रेम भुजेल र उपमहासचिवमा सीता बराल प्रतिश्पर्धी हुन् ।
प्रजु प्यानलबाट खुला सदस्यमा बलराम बराल, केशवबहादुर खत्री, दिनेशचन्द्र बास्तोला, कुमारी मुना बास्तोला, कीर्तिवल्लभ त्रिपाठी, बुद्धिबहादुर गहतराज, ऋषिराम भण्डारी र रामेश्वर अधिकारी छन् । अधिकारी प्यानलका रुद्र लुईंटेल र नगेन्द्र सुवेदीलाई पनि प्रजु प्यानलले आफ्नो लिष्टमा हालेर प्रचार गरिरहेको छ ।
दामु प्यानलबाट सदस्यमा नारायण पौडेल, डिबी भुजेल, पवित्रा गुरुब, तेजेन्द्र पौडेल, सोवित पौडेल, नगेन्द्र सुवेदी, नगेन्द्र पोखरेल, चन्द्रा शर्मा, उमराज बास्तोला र रुद्र लुइँटेल छन् ।
वस्तुगततर्फ ४ सदस्यका लागि ८ जना उम्मेदवार छन् । प्रजु प्यानलबाट हरिराज पन्त, शिवराज बास्तोला, रञ्जन बुद्धाचार्य र राजेशनाथ गुप्ता चुनावी मैदानमा छन् भने अधिकारी प्यानलबाट दामु प्यानलबाट वस्तुगततर्फ ज्ञानबहादुर नेपाली, श्रीप्रसाद घले, चिन्तामणि बास्तोला र तारानाथ ढुंगाना प्रतिस्पर्धामा छन् ।
कर्पोरेटतर्फ २ पदका लागि चुनाव हुनेछ । यसमा ४ जना प्रतिस्पर्धी छन् । प्रजुको प्यानलमा हर्क अधिकारी र हरिहर सापकोटा छन् भने अधिकारी प्यानलका कमलबहादुर बस्नेत र घनश्याम शर्मा उम्मेदवार बनेका छन् ।
उद्योगतर्फ १ सदस्यको लागि हीरामणि पण्डित र सुरेशबहादुर श्रेष्ठ प्रतिश्पर्धामा छन् ।
व्यापार संघका रुपमा २०११ सालमै खुलेर पोखराकै विकासमा महत्वपूर्ण योगदान गरेको संस्था देशभरीमै अब्बल मानिन्छ । पोखराकै अगुवाईमा नेपाल उद्योग बाणिज्य महासंघ स्थापना भएको थियो ।
खासगरी पोखराको सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र पछिल्लो समय पोखरा अन्तराष्ट्रिय विमानस्थलमा पोखरा उद्योग बाणिज्य संघको भूमिका सम्झन लायक छ ।