पोखरा उद्योग बाणिज्य संघको अधिवेशन आजदेखि, कसले बाजी मार्ला ?

प्रकाश ढकाल
पोखरा, असोज ५ ।
आजदेखि पोखरा उद्योग बाणिज्य संघको ३२ औं अधिवेशन सुरु हुँदैछ । शुक्रबार उद्घाटन समारोह हुनेछ भने शनिवार निर्वाचन कार्यक्रम छ । यो अधिवेशनले २ बर्षका लागि नयाँ कार्यसमिति चयन हुनेछ ।

निर्वाचन नजिकिँदै गर्दा उम्मेदवार बीचको प्रतिश्पर्धा कडा र पेचिलो बन्दै गएको छ । एकअर्कालाई घोचपेच गर्ने सम्मका कामहरु भैरहेका छन् । साथै आफु निकटका ब्यवसायीहरुले विज्ञप्ती नै निकालेर साथ र सहयोग गर्ने घोषणा पनि गरिरहेका छन् ।

यो बर्षको चुनाव दुई पार्टी बीचको प्रतिश्पर्धाको रुपमा हेरिएको छ । हालका बरिष्ठ उपाध्यक्ष रवीन्द्रबहादुर प्रजु र महासचिव दामु अधिकारी बीच नेतृत्वमा प्रतिश्पर्धा हुन लागेको छ । प्रजुले काँग्रेस निकट ब्यवसायीको नेतृत्व गरेका छन् भने अधिकारीले नेकपा निकटको । राजनीतिक रुपमा अधिकारी प्यानललाई जनमोर्चाको साथ छ । उता प्रजु प्यानललाई नयाँ शक्तिले साथ दिईरहेको छ ।

व्यापार संघका रुपमा २०११ सालमै खुलेर पोखराकै विकासमा महत्वपूर्ण योगदान गरेको संस्था देशभरीमै अब्बल मानिन्छ । पोखराकै अगुवाईमा नेपाल उद्योग बाणिज्य महासंघ स्थापना भएको थियो । खासगरी पोखराको सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र पछिल्लो समय पोखरा अन्तराष्ट्रिय विमानस्थलमा पोखरा उद्योग बाणिज्य संघको भूमिका सम्झन लायक छ ।

३२ औं अधिवेशन सुरुहुनु भन्दा पहिले नै दुई पक्षबीच विज्ञप्ती मार्फत एकले अर्कालाई आरोप प्रत्यारोपमा उत्रिएका छन् । चुनावको अन्तिम संघारमा मतदाता फकाउन र आफ्ना पक्षमा नतिजा ल्याउन उम्मेदवार, पूर्व अध्यक्षसमेत लागेका छन् ।

दुबै प्यानलले समावेसी र व्यावसायिक समूहका भनेर दावी गरेपनि पूर्ण समावेशी कुनैपनि प्यानल बन्न सकेको छैन । अधिकारी प्रजुले संघभित्र राजनीति गरेको आरोप लगाउँछन् भने प्रजु पनि अधिकारी राजनीति छिराएको बताउँछन् ।

प्रजुलाई जनप्रतिनिधी भएको आरोप छ भने अधिकारीलाई राष्ट्रिय ब्यापार संघको सदस्य भएको आरोप छ । प्रजु काँग्रेसतर्फबाट पोखरा ३ का वडाध्यक्ष हुन् । राष्ट्रिय ब्यापार संघ चाहीँ एमालेको भ्रातृ संगठन हो । प्यानल सहित अन्तिम रेसमा कुदिरहेका उम्मेदवार मध्ये जसले मतदातालाई आफ्नो पक्षमा पार्छन् उही उद्योग बाणिज्य संघको २३ औं अध्यक्षको रुपमा निर्वाचित हुनेछ ।

प्रजुले आफुँलाई अनुभवी भएकोले मतदाताले जिताउने दावी गर्छन् भने अधिकारी चाहीँ समावेशी भएकोले आफुँले जित्ने दावी गर्छन् । प्रजु प्यानलबाट बरिष्ठ उपाध्यक्षमा नारायण कोइराला, बाणिज्य तर्फको उपाध्यक्षमा पवन प्रजापति, उद्योगतर्फको उपाध्यक्षमा विन्दु कोइराला सुवेदी, महासचिवमा अर्जुन पोख्रेल, कोषाध्यक्षमा सुरेन्द्रमान बिजुक्छे र उपमहासचिवमा चिनु गुरुङ प्रतिश्पर्धामा छन् ।

अधिकारी प्यानलबाट बरिष्ठ उपाध्यक्षमा यदु अधिकारी, बाणिज्य उपाध्यक्षमा यामनाथ पौडेल, उद्योग उपाध्यक्षमा गीता तिवारी, महासचिवमा किसान सुनार, कोषाध्यक्षमा प्रेम भुजेल र उपमहासचिवमा सीता बराल प्रतिश्पर्धी हुन् ।

प्रजु प्यानलबाट उम्मेदवारी दिएकाहरु अनुभवी र तल्ला पदहरुमा काम गर्दै माथी उक्लिएकाहरु छन् भने अधिकारी प्यानलमा पद फड्किएको आरोप छ । संघको खुला १० सदस्यमा २१ जनाको उम्मेद्वारी परेको थियो । त्यसमा प्रजु प्यानलकी शोभा गौतम र रामप्रसाद गौतमको उम्मेदवारी खारेज भएको थियो भने स्वतन्त्र उम्मेद्वार कृष्णप्रसाद तिवारीले उम्मेदवारी फिर्ता लिएका थिए ।

प्रजु प्यानलबाट खुला सदस्यमा बलराम बराल, केशवबहादुर खत्री, दिनेशचन्द्र बास्तोला, कुमारी मुना बास्तोला, कीर्तिवल्लभ त्रिपाठी, बुद्धिबहादुर गहतराज, ऋषिराम भण्डारी र रामेश्वर अधिकारी छन् । दामु प्यानलबाट सदस्यमा नारायण पौडेल, डिबी भुजेल, पवित्रा गुरुब, तेजेन्द्र पौडेल, सोवित पौडेल, नगेन्द्र सुवेदी, नगेन्द्र पोखरेल, चन्द्रा शर्मा, उमराज बास्तोला र रुद्र लुइँटेल छन् ।

वस्तुगततर्फ ४ सदस्यका लागि ८ जना उम्मेदवार छन् । प्रजु प्यानलबाट हरिराज पन्त, शिवराज बास्तोला, रञ्जन बुद्धाचार्य र राजेशनाथ गुप्ता चुनावी मैदानमा छन् भने अधिकारी प्यानलबाट दामु प्यानलबाट वस्तुगततर्फ ज्ञानबहादुर नेपाली, श्रीप्रसाद घले, चिन्तामणि बास्तोला र तारानाथ ढुंगाना प्रतिस्पर्धामा छन् ।

कर्पोरेटतर्फ २ पदका लागि चुनाव हुनेछ । यसमा ४ जना प्रतिस्पर्धी छन् । प्रजुको प्यानलमा हर्क अधिकारी र हरिहर सापकोटा छन् भने अधिकारी प्यानलका कमलबहादुर बस्नेत र घनश्याम शर्मा उम्मेदवार बनेका छन् । उद्योगतर्फ १ सदस्यको लागि हीरामणि पण्डित र सुरेशबहादुर श्रेष्ठ प्रतिश्पर्धामा छन् ।

श्रोतका अनुसार हालसम्म बस्तुगत तर्फ दुईवटै प्यानका लागि १४÷१४ मत छ । जसले यताउति पार्न सक्छ नतिजा उसैको पक्षमा जानेछ । समग्रमा यसबर्षको महाधिवेशन निकै प्रतिश्पर्धाको रुपमा हेरिएको छ ।