पोखरा उद्योग बाणिज्य संघ चुनाव–लोकतान्त्रिक प्यानलमा दुईजनाको सदस्यता रद्ध

पोखरा, भदौ २६ ।
पोखरा उद्योग बाणिज्य संघको चुनावका लागि उम्मेदवारी दिएका दुईजनाको उम्मेदवारी रद्ध भएको छ । लोकतान्त्रिक प्यानलबाट खुला सदस्यमा उम्मेदवारी दिएका शोभा गौतम र प्रेमप्रसाद गौतमको उम्मेदवारी निर्वाचन कमिटीले रद्द गरेको हो ।

उद्योग बाणिज्य संघको चुनावमा उम्मेदवारी दिन साधारण सदस्यता लिएको कम्तिमा दुई बर्ष पुग्नुपर्ने भन्दै उनीहरुको समयावधी पूरा नभएको बताईएको छ । विधानमा कम्तिमा २ बर्ष अगाडी साधारण सदस्य र कर्पोरेट सदस्य भएकाहरुले मात्रै निर्वाचनमा उम्मेदवार हुन पाउने नियम छ ।

लोकतान्त्रिक समूहतर्फका ४ जना विरुद्ध दावी विरोध परेको थियो । दावी विरोधपछि छानवीन गर्दा शोभा गौतम र प्रेमराज गौतमको उम्मेदवारी दिने समय अपुग भएको निर्वाचन कमिटीको ठहर छ । उद्योगतर्फकी उपाध्यक्ष विन्दु कोइराला सुवेदी र कर्पोरेट सदस्यतर्फका केपी शर्मा पाध्यालाई पनि दावी विरोध परेकोमा उनीहरुको कुनै समस्या देखिएन ।