‘पोखरा अन्तराष्ट्रिय बजार भैसक्यो, हाम्रो तयारी पुगेन’

पोखरा, पुस १७ ।
पोखरा उद्योग वाणिज्य संघ यस क्षेत्रकै सबैभन्दा अग्रणी र जेठो सामाजिक संस्था । अहिले ३३ औं महाधिवेसनको रन्को छ । पुस २४ र २५ गतेका महाधिवेसनको मिति तोकिएपछि उम्मेदवारहरु प्यानल नै घोषणा गरेर मतदाता फकाउने काममा जुटेका छन् । यसै क्रममा हामीले हालका महासचिव र वाणिज्य तर्फका उपाध्यक्ष पदका उम्मेद्वार अर्जुन पोखरेलसँग कुराकानी गरेका छौं । प्रश्तुत छ, उनीसँग गरेको कुराकानीमा आधारित सानो अंशः

सँधै माछापुच्छ्रे र फेवाताल देखाउन कति पर्यटक बोलाउने ? नयाँ गन्तब्य तयार गरौं न । राज्यसँग सहकार्य गर्न निजी क्षेत्र सँधै तयार छ । छलफल र वहस गरौं । संयुक्त योजना बनाऔं, संयुक्त लगानी गरौं । निजी क्षेत्रलाई लुटेराको शैलिमा हेर्छ, सँधै सरकार । अव दृष्टीकोण बदल्नु छ । निजी क्षेत्र सरकारका प्रमुख साझेदार हुन् । हामी राज्यको नीति नियमभित्र रहेर व्यापार व्यवसाय गर्छौं । भएको आम्दानीबाट राज्यलाई कर तिर्छौं । त्यही करले राज्य संचालन भैरहेको छ । सरकारले निजी हेर्ने नजरमा अव भिन्नता हुनैपर्छ ।

पोखरा महानगरपालिकाले केही राम्रा योजनाको प्रश्ताव अघि सारेको छ । सेती खोंच, पातले छाँगो, सराङकोट हाम्रा सम्पत्ति हुन् । तर यसको भरपुर उपभोग गर्न पाएका छौनौं । स्थानीय र सरोकारवाला समेतको सुझाव र समर्थनमा यि आयोजना अघि बढाउन सके केही समयको पर्यटन यसले पनि थेग्छ । काहुँडाँडा, मट्टीखान, पुम्दीभुम्दी, पन्चासे अहिलेसम्म भर्जिन छ । विश्वमै सबैभन्दा धेरै जैविक विविधता भएको पन्चासे क्षेत्रलाई कितावमा मात्रै पढाउने कि पर्यटकलाई त्यहाँ पठाउने ?

भाषणमा मात्रै कति रमाउने ? भर्जिन चिजहरुबाट कमाउने उपाय खोजौं । पोखरा अव नचाहेर पनि अन्तराष्ट्रिय सहर भैसक्यो । नयाँ अन्तराष्ट्रिय विमानस्थल बनेपछि पोखरा विश्वबजारसँग सीधै जोडिन्छ । कोरला नाका खुल्ने वित्तिकै त्यसको भार पोखराले थेग्नुपर्छ । यो त त्यसैपनि दुई देशबीचको ट्रान्जिट बन्ने पक्का भयो । कोरलाको सामान पोखरा आउँछ, सुस्ताबाट ल्याएको सामान पनि पोखरा आउँछ । कालिगण्डकी कोरिडोर र कोरला सुस्ता सडक सञ्चालनमा आएपछि त्यसको फाईदा पोखराले लिने गरी योजना बन्नै सकेन । हेर्नुस् त, एकातिर अन्तराष्ट्रिय विमानस्थल, अर्कोतिर दुई छिमेकी देश जोड्ने सडक । अब कसैले बार बारेर पोखराको विकास रोक्न सक्छ र ? बरु त्यसको व्यवस्थापनतर्फ हाम्रो तयारी पो पुगेन कि ! आन्तरिक व्यवस्थापन मिलाउन सकेको छैन । अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिने फाष्ट ट्रयाक सडक बनाउन ढिलो भैसक्यौं । समाचारमा सुनिरहेको छु, विमानस्थल चलाउन ल्याण्डफिल साईट हटाउनुपर्छ । तर अहिलेसम्म त्यसको लागि जग्गा समेत खोजी गरिएको छैन ।

सबैभन्दा धेरै विदेशी पर्यटक पुग्ने लेकसाईड अझै बजार बन्न सकेको छैन । सडकका दुई किनारमा सुविधासम्पन्न होटल, रेष्टुरेण्ट र पसलहरु छन् । तर अलि भित्र छिर्ने वित्तिकै गाईं भैंसीका गोठ छन् । खेती गरिएका छन् । ति मुल्यवान जग्गाहरुलाई सहरी अवधारणा अनुसार उपयोग गर्ने सरकारी योजना छैन । लेकसाईडले मात्रै भोलिका दिनमा पर्यटक थेग्न सक्दैन । नयाँ गन्तब्यहरुको खोजी गर्नुपर्छ । प्रोडक्ट खोज्नुपर्छ । प्रोडक्ट चाहियो नि । अहिले कास्कीभित्रका प्रडक्ट खोजौं, प्रचार गरौं । भोलि छिमेकी जिल्लामा विस्तार गर्नुपर्छ ।

फुटपाथको समस्या पोखरामा साह्रै ठूलो छ । घर बहाल करको समस्या टड्कारो व्यहोरिरहनु परेको छ । यो कर घरबेटीले तिर्ने कि व्यवसायीले ? पर्यटन व्यवसायीको डिमाण्ड सुल्क (विद्युत) समस्या समाधानमा ढिलो गर्नु हुँदैन । कर दैनिक महंगिदै गएको छ । बैंकको ब्याजले व्यवसायीहरुको ढाड थिचिएको छ । पार्किङ राम्रो छैन । पोके व्यापारीले लाखौं भाडामा लिएर सटरभित्र चलाएका व्यापार ध्वस्त पारिदिएका छन् । फोहोर व्यवस्थापन राम्रो हुन सकेको छैन । यि हामीलाई सानो लाग्ने उद्योगी व्यापारीका ठूलो समस्या हुन् । यि समस्या अव कहिलै नउल्झिने गरी समाधान गर्नु अहिलेको उद्योग वाणिज्य संघको चुनौति र गहन जिम्मेवारी हो । त्यही जिम्मेवारी पूरा गर्न मैले उम्मेदवारी दिएको छु । हाम्रो टीमले यो पहल गर्ने छ । पोखरा उद्योग वाणिज्य संघको विगतको विरासत जोगाउन कम्मर कसेर लागेका छौं ।