पोखरालाई ‘बुटिक’ एयरपोर्ट बनाउने हो, विज्ञको पछि नलाग्नुस्–मन्त्री अधिकारी

पोखरा, असार ११ ।
मन्त्री अधिकारीले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थललाई महँगा पर्यटक भित्र्याउने बुटिक एयरपोर्ट बनाउनुपर्ने बताएका छन् । ‘पोखरालाई भद्रगोल गरेर र सस्ता पर्यटक ल्याएर काम छैन,’ उनले भने, ‘पोखरामा इकोनोमिक क्लासको प्लेन ल्याउनु पर्छ, महँगा पर्यटक र एयरलाइन्सहरू आउँदा यहाँको आम्दानी पनि राम्रो हुन्छ ।’

भारत, चीन लगायतका छिमेकी देशबाट पोखरा विमानस्थलमा १ सय ८० सिट क्षमताको जहाज मात्र आउन सक्ने प्रष्ट पार्दै विमानस्थललाई प्रादेशिक हवाई यात्राको केन्द्र समेत बनाइने मन्त्री अधिकारीको भनाइ छ । ‘ठूला जहाज आउन सक्दैनन् भन्ने हामीलाई पहिले नै थाहा थियो । त्यसैले साना तर राम्रा जहाज ल्याण्ड गर्ने गरी काम गर्दैछौं, उनले थपे–पोखरा अव गुणस्तरीय पर्यटकको गन्तब्य स्थल बन्छ ।’

विज्ञ समूहको प्रतिवेदन बारे पत्रकारले गरेको प्रश्नमा उनले कागले कान लग्यो भन्दैमा कागको पछि नलाग्न आग्रह गरे । उनले नै गठन गरेको विज्ञ टोलीले पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल अन्तराष्ट्रिय उडान भर्न अयोग्य भएको प्रतिवेदन सार्वजनिक गरेपछि पर्यटनमन्त्रीको आलोचना भएको थियो ।

मन्त्री अधिकारीले यो महिनाभित्र आफूले सम्पादन गर्ने पाँच वर्षे कार्ययोजना तयार हुने जानकारी दिँदै भारतसँग हवाई मार्ग सम्झौताले नेपालको बाह्य सम्पर्क विस्तारमा ठूलो ढोका खोलेको दाबी गरे । ‘नेपाल भूपरिवेष्ठित मात्र हैन, एयर लक्ड पनि थियो, नेपालबाट बाहिर जान आउन एउटा रुट थियो, अहिले चारवटा रुट छन्’, उनले भने–‘अब हामी चीन र नेपालबीच रहेर पनि स्वाधीन, स्वाभिमानी र स्वतन्त्र रूपले उभिन सफल भएका छौं ।’