पोखरामा ४० तले घर बनाउन सुझाव, मापदण्ड विज्ञकै भवनमा मापदण्ड छैन

पोखरा, असोज ५ ।
पोखराको नयाँ र परिमार्जित मापदण्ड बनाउनका लागि गएको बैशाखमा महानगरले विज्ञ समूह गठन गरेको छ । महानगरले मापदण्ड विपरित भवन ठड्याउने मान्छे नै समूहको संयोजक बनाईएको छ । प्राध्यापक भरत पहारीलाई पोखराको मापदण्ड तय गर्ने टोलिको संयोजक बनाईएको हो ।

पटक पटक महानगरको ध्यानाकर्षण गराएपनि महानगरले यसलाई वास्ता गरेको छैन । पोखरामा हालसम्म पनि तीनतला भन्दा अग्ला घरको नक्सापास हुँदैन । तर पहारीले नवौं तलासम्मको घर बनाएका छन् । होटल प्रयोजनका लागि भवन निर्माणाधीन छ ।

पोखरालाई थप व्यवस्थित र सुन्दर बनाई राख्न, घर निर्माणमा मापदण्ड तयार गर्न बनेको समितिका संयोजक नै मापदण्ड विपरितका संरचना बनाउन थालेपछि बन्ने मापदण्डबारे पनि शंका सुरु भैसकेको छ । उनले आफूलाई फाइदा हुने हिसाबले नै महानगरपालिकालाई प्रतिवेदन बुझाएका छन् । महानगरले गठन गरेको विज्ञ समूहले गत साउनमा नै अध्ययन प्रतिवेदन बुझाएर पोखरामा ४० तले सम्म घर बनाउन सकिने बताएको छ ।

‘हामीले थुप्रो मिहिनेत गरेर, पसिना चुहाएर प्रतिवेदन बनाई महानगरलाई बुझाएका छौँ, विज्ञ समूहका संयोजक पहारीले भने–पोखरामा २० तले, ३० तले, ४० तले घर बनाउन सकिन्छ । हामीले कसैको सनकको भरमा अध्ययन गरेर प्रतिवेदन बनाएका होइनौँ । पोखराको थप सुन्दरता कायम राख्न हाम्रो प्रतिवेदनले सहयोग गर्छ ।’

तर समितिले बनाएको प्रतिवदेनलाई अध्ययन गर्न अहिले छुट्टै समिति बनाईएको छ । वडाध्यक्ष र जनप्रतिनिधिको रोहवरमा मापदण्ड तय हुने मेयर मानबहादुर जिसीले जानकारी दिए । पोखराको स्वरुप नविग्रिने गरी मापदण्ड तय हुने उनको विश्वास छ ।