पोखरामा हालसम्मकै ठूलो साहित्यिक पुरस्कार स्थापना

पोखरा, चैत १२ ।
पोखराबाट सर्वाधिक ठूलो राशीको साहित्यीक पुरस्कार स्थापना भएको छ । महाकाव्यकार जनार्दन त्रिपाठीले आफ्नै कृति ‘नेपालश्री’ महाकाव्यको नाममा १५ लाख राशीको पुरस्कार कोष स्थापना गरेका हुन् । कोषबाट हरेक बर्ष ५१ हजार नगदसहित १ जना श्रष्टा सम्मानित हुनेछन् । यसअघि नै स्थापना भएको लेखनाथ साहित्य पुरस्कारको राशी ५० हजार छ । आईतबार एक कार्यक्रमका बीच नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले पुरस्कारको घोषणा गरे । पुरस्कार घोषणापछि बोल्दै उनले यो पुरस्कार काठमाण्डौं बाहिरका लागि ऐतिहासिक भएको टिप्पणी गरे । ‘राजधानीमा धेरै साहित्यीक पुरस्कार छन् । तर ति पुरस्कारहरु विकृत पनि उत्तिकै छन्, उनले भने–पोखरामा स्थापना भएको यो पुरस्कार विकृत नहोस् । शुभकामना छ ।’ नेपालकै नाम राखेर स्थापना भएको कोषप्रति सबैले अपनत्व गर्ने गरि सञ्चालन गर्न उनको सुझाव छ ।
कार्यक्रममा एसियन फोरमका अध्यक्ष लक्ष्मण बानियाँ क्षेत्री, पत्रकार बद्रीविनोद प्रतिक, महाकाब्यकार माधव वियोगी, डा. कृष्णराज अधिकारी लगायतले बोलेका थिए । कार्यक्रमकै अवसरमा एसियन फोरमले २५ हजार रुपैयाँ पुरस्कार कोषका लागि सहयोग गरेको छ । भर्खरै स्थापना भएको कोषबाट ३ वटा पुरस्कार तथा सम्मान गरिनेछ । नेपालश्री पुरस्कार ५१ हजार र नेपालश्री आलेख प्रोत्साहन पुरस्कार १० हजार नगद रहनेछ । यस्तै नेपालश्री वाङमय सम्मान दोसल्ला र सम्मानपत्रले सम्मान गरिने पुरस्कार सञ्चालकले जनाएका छन् । पुरस्कार सञ्चालनका लागि हाल १३ सदस्यीय कार्यसमिति गठन भएको समितिका अध्यक्ष अरुणस्तोम त्रिपाठीले जानकारी दिए । त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव छन्दमणी त्रिपाठीले गरेका थिए भने स्वागत उपाध्यक्ष प्राडा बाबुराम अधिकारीले गरेका थिए । नेपालश्री महाकाव्य २०६४ कार्तिक २२ गते सार्वजनिक गरिएको थियो ।