पोखरामा सूर्यको हत्या प्रकरण–रामचन्द्रले हत्या स्विकारे, केटी मार्फत प्रहरीको अनुसन्धान

पोखरा, बैशाख १९ ।
केही बर्षदेखि जिल्ला प्रहरी कार्यालय कास्कीमा महिनै पिच्छे देखिन्थिन् विष्णुकुमारी पाण्डे । उनको हातमा छोराको हत्या गरिएको अवस्थाको दुईवटा फोटो हुन्थे । जो भेटेपनि रुँदै भन्थिन्–‘मेरो छोरोको हत्या गरिएको हो । आँफै मरेको होईन ।’ पत्रकार रञ्जन अधिकारीले यो खवर गण्डक न्यूजमा लेखेका छन् ।

कास्की प्रहरीले चाहीँ हत्याको प्रमाण नभेटेको भन्दै छानविन र अनुसन्धान फितलो गरेको थियो । तर उनले कहिलै पनि हिम्मत हारिनन् । अन्ततः हत्याको ४ बर्षपछि कास्की प्रहरीले पक्रियो केही आरोपी र थाल्यो अनुसन्धान ।

प्रहरीले चासो नदिएपनि विष्णु मानव अधिकार आयोग देखि विभिन्न संघ संस्थाहरुमा गएर पनि उजुरी गरिन् । चौतर्फी दवावपछि प्रहरी बाध्य भयो अनुसन्धान गर्न । श्रोतका अनुसार प्रहरीले पक्राउ गरेका तीनमध्ये एकजनाले सूर्यको हत्या गरेको स्विकारिसकेका छन् ।

दुई जनाले भने आफूमाथि लागेको आरोप अस्विकार गरेका छन् । गत वैशाख १३ गते शुक्रबार किटानी जाहेरी दर्ता भएकोमा आइतबार नै तीनै जनालाई पक्राउ गरिएको थियो । पोखरा महानगरपालिका ९ बस्ने माइला भनिने बुद्ध श्रेष्ठ, उनका साथी सोहि ठाउँका ध्रुब मानन्धर र रामचन्द्र मानन्धर पक्राउ परेकोमा सोमबार तिनै जनालाई म्याद थप गरी कास्की प्रहरीको हिरासत कक्षमा राखेर अनुसन्धान अगाडि बढाइएको छ ।

प्रहरीको प्रारम्भिक बयानमै रामचन्द्रले आफूले झगडापछि धकेलिदिएको र भिरबाट खसेर मृत्यु भएको स्विकार गरेका छन् । रामचन्द्र ध्रुबका दाइ हुन् । आरोपित ध्रुब पोखरा नयाँबजारस्थित बजाज मोटरसाइकलको विक्रेता इच्छाशक्ति अटोमोबाइल्समा काम गर्छन् । मृतक सूर्य पनि यसअघि सोहि ठाउँमा काम गर्थे । सूर्य लागुऔषध प्रयोग गर्ने भएकाले सो ठाउँबाट निकालेको नाम नखुलाउने शर्तमा बजाज शोरुमकै एक कर्मचारी बताउँछन् । प्रहरी श्रोतका अनुसार अब तीनै जनालाई म्याद थप्दै आवश्यक अनुसन्धान गरेर अदालतमा पेश गरिनेछ ।

कसरी नजिक पुग्यो प्रहरी ?

पोखरा नयाँबजारमा मोटरसाइकल वर्कशपमा मिस्त्री काम गर्दै आइरहेका कास्कीको सिल्दुजुरेका सूर्य पाण्डे सेतीघाटमा २०७१ फागुन ६ गते अचानक मृत भेटिए । त्यो बेला पोष्टमार्टम रिपोर्टमा (कज् अफ डेथ) मृत्यु हुनुको कारण बजारिएर भएको उल्लेख छ । तर, दिउँसो झगडा भएका कारण सूर्यकी आमा साथीहरुले नै मारेर फालेको दाबी गरिरहिन्, चार वर्षसम्म न्यायको भिख माग्दै भौतारिरहिन् ।

तत्कालिन कास्कीका एसपीहरु हरिबहादुर पाल, घनश्याम अर्याल, अशोक सिंह पछि अहिले एसपी ओम रानाले आफ्नो नेतृत्वको वर्षदिन पछि अनुसन्धान अघि बढाए, त्यो पनि चौतर्फी दवावमा । त्यसमा उनीभन्दा जुनियर अधिकृतहरुको ठूलो साथ छ । एउटी केटीमार्फत नै अनुसन्धान प्रक्रिया अघि बढ्यो । जुन केटीसँग त्यसरात रक्सी पिइएको थियो ।

घटना विवरण

सूर्य पाण्डे केहि समयअघि सम्म ध्रुबसँग बजाज शोरुममा काम गर्थे । तर पछि सूर्यलाई निकालियो । सूर्य चलाख, तिक्ष्ण बुद्धिका थिए । तर, लागुपद्धार्थ पनि प्रयोग गर्थे । २०७१ फागुन ५ गते शिवरात्रीको दिन । सूर्य पाण्डे ४ जना साथीसहित दिनभर सँगै थिए । त्यहाँ रामचन्द्र, माईला भनिने बुद्ध, ध्रुब थिए । बीचमा लागुऔषध पनि प्रयोग भयो ।

बेलुकी ६ बजेतिर तुलसीघाटको शिव मन्दिर पुगे । जहाँ शिवधुनी र उखु पड्काएर रमाईलो थियो । सूर्यको माहिला भन्ने बुद्ध श्रेष्ठसँग झगडा भयो । माहिला र ध्रुब घर गए । तर सूर्य र रामचन्द्र एक अधवैंशे महिलाकोमा बसेर उनी सहित बिक थरकी एक युवतीका साथ रक्सी खान थाले । रातको १२–१ बजेतिर सूर्य र रामचन्द्र निस्के । पुलपारितिर पुगेपछि त्यहीं झगडा भयो । अनि रामचन्द्रले धकेलिदिए । तल अनकन्टार भिर छ । सेती लुकेको छ । सूर्य त्यहींबाट खसे ।

ढुंगामा बजारिएर मृत्यु भयो । नजिकै प्रहरी पोष्ट समेत छ तर प्रहरीले पत्तै पाएन । फेरि रामचन्दै त्यही महिलाको घर फर्के, हातमुख धोए, उज्यालो नहुँदै निस्के । भोलिपल्ट सूर्य मृत भेटिएको खबर फैलियो तर उनी घटनास्थल पनि गएनन् ।

प्रहरी श्रोत भन्छ, ‘बुद्धसँग त झगडा भएको हो । त्यही आधारमा आमाले बुद्ध र ध्रुब मुछिएका हुन् । उनीहरु संलग्न भएको प्रमाण अझै भेटिएन ।’ सूर्यकी आमा विष्णुकुमारीले पहिल्यै दुई जनालाई किटानी जाहेरी दिएकी थिईन् ।

पूरा समाचार पढ्नुस्