पोखरामा सुकुम्बासीका पीडा–कार्ड छ, जग्गा छैन

पोखरा, मंसिर १८ ।
पोखरा सबैका लागि सपना हो । सपना सबैको पूरा हुँदैन । पोखरामा विभिन्न बहानाले बसोबास गर्ने मान्छेहरु छन् । कोही सम्पत्तिले घरबार जोडेर बसेका छन् भने कोही खान लाउन धौ धौ भएकाहरु पनि सुकुम्बासीको रुपमा पोखरा बसिरहेका छन् ।

पोखरामा बसोबास गर्ने अधिकांश सुकुम्बासीलाई राज्यले सुकुम्बासी परिचयपत्र वितरण गरेको छ । घर बनाउने भूमी नभएकै कारण उनीहरुको नाम सुकुम्बासीको सूचीमा उल्लेख गरिएको हो ।

बिभिन्न समयमा राज्यले सुकुम्वासीहरुको लागि ब्यबस्थापन गर्न या लालपुर्जा उपलब्ध गराउन भन्दै आयोगहरु र्निमाण गरेपनि सुकुम्वासीहरुको समस्या समाधान भएको छैन । पोखरा महानगरपालिका वडा नम्बर १४ मा रहेको रातमाटे डाँडामा ८१ घरपरिवार सुकुम्बासी छन् । उनीहरुलाई राज्यले परिचयपत्र वितरण गरेको छ ।

तर केही ब्यक्तिहरुले उनीहरु बसिरहेको ठाउँ आफ्नो लालपुर्जा भित्र रहेको दावी गर्दै हट्न दवाव दिईरहेका छन् । राज्यले बसोबास किटानी सहित सुकुम्वासी आयोग मार्फत त्यस क्षेत्रमा बसोबास गर्न अनुमति दिईसकेको अबस्थामा केही ब्याक्तिले जग्गा ओगट्ने मनसायले आफुहरुलाई त्रसित बनाउन थालेको भन्दै त्यहाँका सुुकुम्वासीहरुले सार्बजनिक रुपमा जीवन सुरक्षा तथा गाँस, बासको ब्यबस्था गर्न अपिल गरेका छन् ।

२५ बर्षदेखि त्यस क्षेत्रमा सुकुम्बासी बसोबास गरिरहेका छन् । मुस्लिम समुदायका ब्यक्तिहरुले जग्गा आफ्नो भएको दावी गर्दै तत्काल जग्गा खालि गर्न दवाव दिएको टोल विकास संस्थाका अध्यक्ष राजु नेपालीले बताए ।

‘२५ बर्ष सम्म बस्दा कोही चुईंक्क बोलेन । कसैले मेरो जग्गा भनेर दावी पनि गरेन, उनले भने–पहिले एकान्त थियो । अहिले चहलपहल हुन थालेपछि गलत मनसायले जग्गा हडप्ने प्रयास भैरहेको छ ।’ बैकल्पिक ब्यवस्था राज्यले नमिलाएसम्म आफुँहरुले ठाउँ नछोड्ने सुकुम्वासी संघका प्रदेश संयोजक अर्जुन मल्लले बताए । कुनैपनि नाममा सुकुम्बासी माथी हुने आक्रमण र मानसिक दवाव सह्य नहुने उनको चेतावनी छ ।

त्यस क्षेत्रमा केही ब्याक्तिहरुले अनाधिकृत रुपमा टहराहरु बनाउन थालिसकेका छन् । अहिले नै नरोके राज्यलाई ठूलो नोक्सान हुने स्थानीयहरुको भनाई छ । सुकुम्बासीहरुले पत्रकारसँग कुराकानी गर्दै घटनाबारे जानकारी गराएका हुन् ।