पोखरामा सामाजिक परिचालक र प्रहरीबीच झडप, १० जना घाईते

पोखरा, भदौ १ ।
जागिरमा पुर्नबहालिको माग राख्दै आन्दोलनरत सामाजिक परिचालकलाई प्रहरीले हातपात गर्दा १० जना घाइते भएका छन् । सामाजिक परिचालकहरु रेनु सुनार, भगवनी लामिछाने, शर्मिला ढकाल, सिता सुवेदी, शर्मिला पौडेल, बिष्णुमाया नेपाली, अमृता बस्याल नेपाली, तेजप्रसाद शर्मा र मोहन थापा घाईते भएका हुन् ।

घाईतेमध्ये बिष्णुमाया नेपाली र अमृता बस्यालको टाउकोमा चोट लागेको संघर्ष समितिकी संयोजक कमला खनालले जानकारी दिइन् । ‘टाउकोमा बढि चोट लागेर वमिट भइ रहेको छ,’ उनले भनिन्–‘हामी अहिले अस्पतालको इमर्जेन्सी वार्डमा छौं ।’

कामको मुल्याकंन नगरी अवकाश दिएको विरोधमा संघले देशव्यापि रुपमा विरोधका कार्यक्रम गर्दै आइरहेको छ । तत्कालिन संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट, २०७४ पुस १४ गतेदेखि उनीहरुलाई बर्खास्त गरिएको थियो ।

पछि निरन्तर आन्दोलन गरेपछि चैत देखि असार मसान्तसम्म म्याद थप भएको थियो । असार मसान्तपछि पनि विनाकारण निकालिएको भन्दै सामाजिक परिचालकहरुले निरन्तर आन्दोलन गरेका हुन् ।

यसैबीच, गण्डकी प्रदेश नेपाली काँग्रेसका सांसदहरुले घटनाप्रति ध्यानाकर्षण गराएका छन् । रोजीरोटी खोसेर उल्टै बल प्रयोग गर्नु दुखद भएको भन्दै तत्काल पुर्नबहाली गर्न काँग्रेस संसदीय दलको माग छ । दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बेरोजगारी अन्त्य गर्ने नारा लिएर निर्वाचित सरकारले भएकै रोजगारीबाट हटाएर तमासा देखाएको आरोप लगाए । आँफुहरुले निरन्तर सामाजिक परिचालकको पक्षमा आवाज उठाउने र आन्दोलनमा ऐक्यवद्धता रहेको उनको भनाई छ ।