पोखरामा समातिए कोरियाका ‘मोस्ट वान्टेड’ अपराधी (पढ्नुस् विस्तृतमा)

काठमाण्डौं, फागुन १० ।
लागूऔषध र ठगी मुद्दामा ‘मोस्ट वान्टेड’ रहेका एक अन्तर्राष्ट्रिय अपराधी पोखरामा पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) ले रेड कर्नर नोटिस जारी गरेका दक्षिण कोरियन नागरिक सिउङ्ग वोन लीलाई नेपाल प्रहरीले पक्राउ गरी अध्यागमन विभागमा बुझाएको छ । विभागले उनलाई कोरिया फिर्ता (डिपोट) गर्ने तयारी गरेको छ । उनलाई लिन शुक्रबार दक्षिण कोरियाबाट ३ प्रहरी नेपाल आउँदैछन् । लागूऔषध मुद्दामा अदालतले १० वर्ष कैद सजाय सुनाएका उनी हङकङ र कम्बोडियामा समेत फरार व्यक्ति हुन् । पोखराको लेकसाइडस्थित न्यु फ्रेन्ड्ली होम होटलमा उनलाई प्रहरीले पक्राउ गरेको हो । एम २५११२९९ नम्बरको पासपोर्ट लिएर उनी नेपाल आएका थिए । उनी इन्टरनेटमार्फत लाखौं डलर ठगीमा पनि संलग्न रहेको प्रहरी स्रोत बताउँछ । कोरियन प्रहरीले पनि प्राथमिकतामा राखेर उनको खोजी गरिरहेको थियो । ली गत ८ जनवरीमा नेपाल आएका थिए । उनी नेपाल आएलगत्तै एसिबी (नेसनल सेन्ट्रल ब्युरो)–काठमाडौंले सूचना पाएको थियो । करिब एक महिनासम्म उनले प्रहरीलाई झुक्याएका थिए । प्रदेश ४ को प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले उनलाई पक्राउ गरेको हो ।
अध्यागमनमै छक्याए
एक महिनाको अनअराइभल भिसा लिएर नेपाल छिरेका उनको दुई साताअघि भिसा सकिएको थियो । उनी अध्यागमनको कालोसूचीमा परिसकेका थिए । तर, पोखरास्थित अध्यागमन कार्यालयबाट उनी आफ्नो भिसा लम्ब्याउन सफल भएका थिए। अध्यागमन कर्मचारीले भने उनले भिसा लिएको समयमा कार्यालयको सिस्टम डाउन भएकाले समस्या भएको बताएका छन् । प्रहरीले निरन्तर पछ्याएपछि उनलाई पक्राउ गर्न सफल भएको हो । इन्टरपोलको सूचनाका आधारमा लीलाई पक्राउ गरी अध्यागमन विभागमा बुझाइएको प्रदेश ४ का एआईजी कमलसिंह बमले बताए । लीविरुद्ध कोरियामा विभिन्न मुद्दा रहेको आफूहरुले जानकारी पाएको एआइजी बमले बताए ।
हङकङको एयरपोर्टबाटै भागे
हङकङमा पनि केही महिनाअघि उनलाई त्यहाँको प्रहरीले पक्राउ गरेको थियो । तर, उनी एयरपोर्टबाटै छक्याएर भागेका थिए। उनी रेड कर्नर नोटिसमा रहेको थाहा पाएपछि एयरपोर्टमै पक्राउ गर्न खोजे पनि उनी भाग्न सफल भएका थिए । पछि कम्बोडियामा पनि उनले प्रहरीलाई छक्याएका थिए । नेपालमा पनि भाग्न सक्ने भएकाले उनलाई विशेष निगरानी गर्न कोरियन प्रहरीले नेपाल प्रहरीलाई आग्रह गरेको छ ।