पोखरामा सडक महोत्सव सुरु, अव २४ सै घण्टा ब्यापार हुन्छ–मुख्यमन्त्री गुरुङ

पोखरा, पुस १४ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरामा २४ घण्टा व्यवसाय संचालनको वातावरण तयार पार्ने बताएका छन् । शुक्रबार देखि पोखरामा सुरु भएको पोखरा सडक महोत्सवको उद्घाटन गर्दै मुख्य मन्त्री गुरुङले पोखरालाई पर्यटनको राजधानी बनाउने तयारी भएकोले त्यसको लागि पनि पोखरामा २४ सै घण्टा ब्यापार व्यवसाय गर्ने बाताबरणको विकास गर्न चाहेको बताएका हुन् ।

पोखरा पर्यटकीय राजधानि भएसंगै यहाँ २४ घण्टा व्यवसाय संचालन हुनु पर्ने उनको भनाइ थियो । उनले भने “जसरी हामीले ठुलो छलफल विना प्रदेश राजधानि पोखरा बनाउन सफल भयौं, त्यसै गरी अब पोखरालाई पर्यटकीय राजधानिको रुपमा पनि हामीले विकास गर्न चाहेका हौं, पर्यटकीय राजधानि भएसंगै पोखरामा विकासका धेरै पुर्वाधार आवश्यक पर्छन ।”

पोखरामा अझै ५/१० वटा पाँच तारे होटलहरु आवश्यक भएको बताउँदै उनले पोखरा आसपास क्षेत्रमा पर्यटन प्रबद्र्धन तथा पर्यटकहरुको लागि आवश्यक पर्ने बस्तु तथा सेवा उत्पादन गर्न आग्रह गरे । मुख्यमन्त्री गुरुङले पोखरा प्रकृतिको बरदान भएकाले यसलाई आर्थिक विकास र समृद्धीमा परिणत गर्नुपर्ने जोड दिदै त्यसका लागि प्रदेश सरकारले पर्यटन क्षेत्रलाई पहिलो प्रथामिकता दिएको जनाए ।

पोखरा आसपासका क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण भइरहेको बताउँदै उनले निमार्ण्धिन अबस्थामा रहेको बिशाल महादेवको अग्लो मुर्ती, पुर्व उत्तरमा रहेको काहुँडाँडाको बुद्ध विहार लगायतका संरचनाले पर्यटकको बसाई लम्वाउने बताए ।
उनले पर्यटकलाई आकर्षित गर्न पोखरामा बहुजातिय, बहु सांस्कृतिक ग्राम बनाउने जनाए । साथै उनले पोखरामा सबै खेल हुने खालको अन्तराष्ट्रिय रंगशाला, अन्तराष्ट्रिय सभाहललगायत बनाइने उल्लेख गरे । मुख्यमन्त्री गुरुङले कोरला–पोखराको बाटो निर्माण अन्तिम चरणमा रहेको बताउँदै पोखरा–भैरहवा, पोखरा–काठमाडौंको बाटो कम्तिमा चार लेनको बनाइने र त्यसपछि पोखरामा पर्यटकको आगमन दोब्बरले बृद्धि हुने दाबी गरे । उनले मध्य पहाडी लोकमार्ग निर्माण सम्पन्न भएर सञ्चालनमा आएसँगै त्यसको प्रभावपनि पर्यटनमा देखिने जनाए ।

मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशमा रोजगारी सृजना, गरिबी हटाउने र उत्पादन बढाउनेलाई लगानीका लागि सँधै खुल्ला गरिने बताए । गण्डकी प्रदेशका सांसद बिन्दुकुमार थापाले पोखरामा हुने महोत्सवले पर्यटन प्रवर्द्धन सहित आर्थिक चलायमान गरेको दाबी गरे । अर्का प्रदेश सांसद राजिव पहारीले फेवाताल संरक्षणमा चासो दिनु पर्ने बताए ।

अंग्रेजी नयाँ वर्षको अवसरमा रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराको आयोजनामा उक्त महोत्सव पुष १७ गतेसम्म संचालन हुने भएको रेवान पोखराका महासचिव गणेशबहादुर थापाले बताए । आन्तरिक तथा वाह्य पर्यटन प्रवर्द्धन, जनजातिसँग सम्बन्धित लोपोन्मुख भेषभुषा, कला, संस्कृति, ग्रामिण क्षेत्रमा उत्पादित घरेलु सामाग्रीहरुको संरक्षणका साथै प्रवर्द्धन गर्ने महोत्सवको उद्धेश्य रहेको उनले जनाए ।