पोखरामा वडाध्यक्षले कर्मचारीलाई हिर्काए

पोखरा, पुस ५ ।
पोखरा लेखनाथ महानगरपालिका स्थित वडा नम्बर १३ का वडाध्यक्ष लेखबहादुर तामाङ (दर्शन लामा) ले महानगरभित्रै कार्यरत पशु शाखा प्रमुखलाई हातपात गरेका छन् । बुधबार पोखरा १३ को आर्वा पशु सेवा केन्द्रले आयोजना गरेको किसानसँगको अन्तरक्रिया कार्यक्रममा तामाङले हातपात गरेका हुन् । पशु सेवा केन्द्रले आँफुलाई कार्यक्रममा नबोलाएको भन्दै तामाङले आँफुमाथी हातपात गरेको पीडित अर्यालले बताए । ‘मलाई तालिममा केन्द्रबाट खवर आयो । म आँफै गएर किसानहरुसँग छलफल गर्दै थिएँ, अर्यालले भने–त्यसपछि वडाध्यक्ष ज्यू आएर एक्कासी बाहिर आईज भन्नुभयो । म बाहिर आउने वित्तिकै गालामा झापड हानेर अपशब्दले गाली गर्नुभयो ।’
आरोपीत तामाङले भने अर्यालले आँफैलाई हिर्काएर भागेका आरोप लगाएका छन् । ‘वडामा भएको कार्यक्रममा मलाई जानकारी नभएपछि मैले किन खवर नगरेको भनेर सोधेको हुँ । कार्यक्रम चलिरहेकाले बाहिर बोलाएँ, उनले भने–अर्यालजीले मलाई धकेलेर अपशब्द बोल्दै जानुभयो । वहाँले सार्वजनिक रुपमा माफी माग्नुपर्छ ।’ कर्मचारीहरुले सेटिङ मिलाएर आँफुलाई फसाउन लागेको तामाङ बताउँछन् । ‘मैले झापड हानेको भए म आँफै प्रहरीलाई किन खवर गर्थें ? वहाँले ४ पटकसम्म मलाई अपशब्दले गाली गर्नुभो, उनी तामाङ भन्छन्–घटनापछि वहाँ हाकिम गुहार्न थाल्नुभयो मैले प्रहरीलाई बोलाएँ । गल्ती कसको हो छर्लङ्गै छ ।’ तामाङले राजनीतिक रंग जोडिएकाले आँफुमाथी षड्यन्त्र भएको गुनासो गरे । उनी एमालेको तर्फबाट वडाध्यक्ष निर्वाचित भएका हुन् ।
पशु सेवा केन्द्रकी प्रमुख कमला खत्रीले वडाध्यक्षलाई पनि कार्यक्रममा निमन्त्रणा गरेको बताईन् । ‘वहाँलाई चिठी पठाएका थियौं । कर्मचारीले चिठी बुझेको ओसी पनि मसँग छ, उनले भनिन्–कार्यक्रम सुरु हुने बेलासम्म नआएपछि फोन गर्दा उल्टै खवर नगरिकन किन कार्यक्रम गरिस् भनेर हप्काउनु भयो ।’ तामाङले आफुलाई कारबाही गर्ने धम्की दिएको खत्रीको गुनासो छ । महानगरपालिकाले पशुपालक किसानहरुलाई ब्यवसायिक पालनबारे छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।
घटनापछि अर्यालले पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसी र कार्यकारी अधिकृत दीर्घनारायण पौडेललाई कारबाहीका लागि निवेदन दिएका छन् । उता तामाङले वडा प्रहरी कार्यालय रामबजारमा ज्यान सुरक्षाको माग सहित निवेदन दिए । मेयर जिसीले घटनाबारे छानवीन गरेर दोषीमाथी कारबाही हुने बताए । ‘हामी छानवीन गर्दैछौं । जसले गल्ती गरेपनि कारबाही हुन्छ, उनले भने ।’ उनले जनप्रतिनिधी संयमित हुनुपर्ने भन्दै कर्मचारीको मानसिकता नगिर्ने गरी काम गर्ने प्रतिबद्धता जनाए । ‘जनप्रतिनिधी भनेको सागर हो । कर्मचारीसँग तुलना गरेर हुँदैन, उनी भन्छन्–कर्मचारीले केही गल्ती गरेपनि संयमित भएर सम्झाउने दायित्व जनप्रतिनिधीको हुन्छ । उल्टै जाईलाग्नु कमजोरी हो ।’ उनले छिट्टै समस्या साम्य पार्ने बताए । वडा प्रहरी कार्यालय रामबजारले घटना सामान्य भएकाले आपसमा मिल्दा सहज हुने बताएको छ ।