पोखरामा वडाध्यक्षकै डोजरको चावी अर्का वडाध्यक्षले खोसे

पोखरा, भदौ २४ ।
पोखरा २१ नाउडीमा अनुमति विना डोजर चलाएपछि वडाध्यक्ष खगराज आचार्यले डोजरको चावी नै खोसिदिए । प्रहरीको सहयोगमा उनले चावी खासेपछि पोखरा महानगरपालिकालाई जानकारी गराए ।

तर घटना यति सामान्य थिएन । संयोगले डोजर पोखरा महानगरकै अर्का वडाध्यक्ष तीर्थराज अधिकारीको थियो । त्यसपछि दुई अध्यक्षबीच सम्बाद चल्यो । ‘वडाध्यक्ष ज्यूले नै फोन गरेर मेरो डोजर हो भन्नुभयो । अर्को मान्छेले पनि फोन गरेर थर्काउन खोज्दै थिए, अध्यक्ष आचार्यले भने–मैले जसको भएपनि नियम मान्नुपर्ने भनेपछि डोजर चलाउनेवाला वडामा आएर सहमति गरेको छ । गलत काम जोसुकै भएनि गर्न पाउँदैन ।’

आफै जनताको प्रतिनिधी भएर गलत काम गर्दा जनताले पत्याउने ठाउँ नै गुम्ने उनको भनाई छ । जथाभावी बाटो खनेपछि विग्रिएको सार्वजनिक सडक सुधार्ने सहमति भएको आचार्यले जानकारी दिए । उनका अनुसार पहिलो पटक पक्राउ परेको डोजरलाई ५० हजार जरिवाना लगाउने कानुनी ब्यवस्था छ । नियमअनुसार जरिवाना लिन महानगरलाई लेखि पठाएको उनले बताए ।

१७ नम्बरका वडाध्यक्ष तीर्थराज अधिकारीले आफ्नो कम्पनीको डोजर भएको स्विकारेका छन् । डोजर मेरो कम्पनीको हो । २ घण्टा चलाउन भनेर लगेका थिए, उनले भने–अध्यक्ष ज्यूले चावी खासेको कुरा आएपछि मैले फोन गरेर कुनै नोक्सानी नभएको भए ब्यवहारिकता हेरेर छोडिदिन भनेको थिएँ । वहाँले मान्नुभएन ।’ आग्रह मात्रै गरेको र नमानेपछि प्रक्रियामा गैसकेको उनको भनाई छ ।