पोखरामा यौन पर्यटन चलाउँदै प्रदेश सरकार, ‘रेडलाईट’को सट्टा ‘ईन्जोय जोन’

पोखरा, बैशाख २८ ।
गण्डकी प्रदेशको राजधानी पोखरामा चौबिसै घण्टा खुल्ला हुने मनोरञ्जन क्षेत्र (इन्जोय जोन) बनाइने भएको छ । थाइल्याण्ड लगायत देशको यौन पर्यटनकै विकसित रुपमा ‘इन्जोय जोन’ को परिकल्पना गरिएको हो । यसका लागि डिपिआर समेत बनाउन लागिएको छ । डिपिआर बनाउन ९ करोड रुपैयाँ विनियोजन भैसकेको प्रदेश सरकारले जनाएको छ ।

पोखरा पर्यटनको हब भएकोले आगन्तुक पाहुनालाई लक्षित गरी पोखरा क्षेत्रमा रेडलाइट क्षेत्रको परिस्कृत रुप ‘इन्जोय जोन’ बनाउने तयारी गरेको हो । उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले हिमाल र ताल देखिने गरी पोखराको लेकसाइड नजिक क्षेत्रमा आगन्तुक पाहुनालाई विश्वमा उपलब्ध हुने अधिकांश सुविधाहरु उपलब्ध हुने गरि २४ सै घण्टा खुल्ला हुने इन्जोय जोन बनाउने तयारी गरेको बताए ।

‘पोखरा आएको पर्यटकहरुलाई अब हामीले हाम्रो कला संस्कृतिको साथमा विश्व बजारमा उपलब्ध हुने सम्पूर्ण सेवा सुविधा हामीले दिन सक्नु पर्छ । यसको लागि हामीले डिपिआर तयार पार्दैछौं । यसको संचालन गर्ने जिम्मा भने निजी कम्पनीलाई दिने हो ।’ उनले भने ।

सरकारले तोकेको निश्चित ठाउँमा पर्यटकीय गतिविधि खुल्ला हुने तर त्यसको निगरानी गर्न भने बाहिरी घेरामा आवश्यक्ता अनुसारको सुरक्षाको समेत व्यबस्था हुने मन्त्री लम्सालले बताए । ‘सरकारले इन्जोय जोन घोषणा गरे पश्चात उक्त क्षेत्रमा भएको पर्यटकीय गतिविधिमा प्रहरी प्रशासनले कुनै हस्तक्षेप गर्दैन । विश्वका पर्यटकीय मुलुक डेनमार्क, थाइल्याण्ड लगायतका देशमा हुने सम्पूर्ण पर्यटकीय गतिविधि सजिलै गर्न मिल्छ ।’ उनले थपे ।

रेडलाईटबारे सोधेको प्रश्नमा उनले भने–‘पर्यटकीय गतिविधि भित्र के के पर्छन्, तपाई आफैँ जान्नुहोस । लामो समय ट्रेकिङमा गएका विदेशी पाहुनाहरुलाई आवश्यक पर्ने खाना, खाजा, खेल्ने, रमाउने, स्विमिङ, स्पा, मसाज, ज्याकुजी लगायतका मनोरन्जनका विभिन्न सुबिधा उपलव्ध हुनेछन् ।’ उनले घुमाउरो तवरले रेडलाइट क्षेत्रको परिस्कृत स्वरुपमा यौनजन्य क्रियाकलाप सहितको इन्जोय जोन संचालन हुने जनाए ।

सराङकोटदेखि पामे लगायतको क्षेत्रमा यसको अध्ययन भइरहेको उनको भनाई छ । १ बर्षभित्रै इन्जोय जोन सञ्चालनमा लम्सालले जानकारी दिए । उक्त क्षेत्रबाट सरकारले निश्चित कर संकलन गर्ने भएको छ भने सो क्षेत्रमा यौनजन्य क्रियाकलाप समेत हुने भएको छ ।