पोखरामा महिलाले नै ठगिन साढे २ करोड, यसरी समात्यो प्रहरीले काठमाण्डौंबाट

पोखरा, माघ ८ ।
परिवार लण्डनमा भएको आश्वासन दिएर चिनेजानेकासँग पैसा ठगी गरेर फरार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । बागलुङ बडिगार्ड गाउँपालिका ८ घर भई पोखरा २६ अर्घौं बस्ने ४२ बर्षकी सरिता कुमारी रानालाई प्रहरीले काठमाण्डौंबाट पक्राउ गरेको हो ।

परिवार लण्डनमा रहेको आश्वासन दिएर विभिन्न ब्यक्तिसँग रकम ठगी गरेपछि उनी फरार थिईन् । घर जग्गा खरिद गर्न, जग्गासँग घर साटी दिने जस्ता बिभिन्न प्रलोभन देखाउने र आफूलाई आपत पर्यो भनेर २ करोड ५० लाख भन्दा बढी रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

पीडितहरुको निवेदनका आधारमा प्रहरीले खोजी गरेको थियो । उनी काठमाण्डौंको दरबारमार्गबाट पक्राउ परेकी कास्की प्रहरी प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए । ति महिलालाई उच्च अदालतबाट म्याद थप गरि अनुसन्धान अघि बढाईएको छ ।

उनले फ्ल्याट भाडामा लिएर काम गर्ने मान्छे राख्ने तथा प्राइभेट कार र चालक राखेको प्रहरी अनुसन्धानमा खुलेको छ । यस्तै उनको कोही पनि लण्डनमा नरहेको प्रहरीले जनाएको छ ।