पोखरामा महिनामै नौ करोडको मोवाईल

धन बस्नेत
पोखरा, पुस १४ ।
स्र्माट फोन, अधिकांशको हातमा छ । तर ब्राण्ड भने फरक । सस्तो मूल्यदेखि लाख भन्दा बढी मूल्य पर्नेसम्म स्मार्ट फोन बजारमा उपलब्ध छन् । अन्तराष्ट्रिय बजारमा लन्चिङसँगै विभिन्न ब्राण्डका स्मार्ट फोन नेपाली बजारमा आईपुग्छ । नेपालमा पनि लन्चिङगरेपछि मोसफलका बजारमा सहजै उपलब्ध हुन्छन् । मोवाईल वितरण संघ पोखराका अध्यक्ष शिवहरी पहारीका अनुसार पोखराको बजारमा १२ देखि १५ ब्राण्डका मोवाईल विक्री वितरण हुदैं आएको छ ।
बजार सानो छ । तर विस्तारै फराकिलो बन्दै गएको छ । मानवीय चाहना पनि फराकिलो बन्दै गएकोले नयाँ ब्राण्डका मोवाईल भित्रिदै गएका छन् । स्मार्ट फोनसँगै आईफोन (एप्पल) मोवाईल रुचीमा पर्छन् । “छ हजारदेखि लाखभन्दा बढीको मोवाईल बजारमा पाईन्छ ।” संघका अध्यक्ष पहारीले भने–“उपभोक्ताको चाहना र रोजाई अनुसारका ब्राण्ड र मूल्यका स्मार्ट फोन खरीद गर्ने गरेका छन् ।” पोखरामा विभिन्न ब्राण्डका स्मार्ट फोन विक्री गर्ने झण्डै एकसय २० पसल छन् ।
अन्तराष्ट्रिय बजारमा आएका मोवाईल पोखरामा बढीमा हप्तादिन भित्रमा आईपुग्छन् । मोवाईलमा वर्षेनी फेरिने फिचर (विशेषता)ले सर्वसाधारणको रोजाईमा पर्दै गएको छ । मोवाईलको साईज, रंगले पनि सर्वसाधारणलाई स्मार्ट फोनप्रति चासो बढाईदिन्छ । क्यामरासँगै मेमोरीको क्षमता(स्टोरेज), प्रोसेसर लगायतका सामान्य फिचरले पनि मानवीय चाहनालाई पुलकित बनाईदिन्छ ।
पोखरामा मासिक ९ करोड रुपैयाँको स्मार्ट फोन विक्री हुने गरेको छ । “पोखरामा नयाँ लन्च हुदाँ सर्वसाधारणको चासो बढ्छ । नयाँ मोडल आउँदा पुराना मोडलको दाम विस्तारै घट्छ ।” उनले भने–“बजारमा बिक्री हुने ब्राण्ड मध्ये सबैभन्दा बढी सामसुङको ब्राण्ड बिक्छ ।” पोखराको बजारमा विशेष गरी सामसुङ, एप्पल, नोकिया, कलर्स, कारबोन, ओप्पो, भिभो, माईक्रोम्याक्स लगायत अन्य ब्राण्डका मोवाईल विक्री हुने गरेका छन् । “बजारमा बिक्री हुने ब्राण्ड मध्ये सामसुङको हिस्सा ६० प्रतिशत भन्दा बढी छ ।” सामसुङ मोवाईल पोखराका विक्रेता सुनिल गुरुङले भने–“मासिक छ करोड रुपैयाँ हाराहारीको मोवाईल फोन विक्री हुन्छ ।” उनका अनुसार १२ हजार मूल्यदेखि ४० हजार मूल्यसम्मका सामसुङका मोवाईल सेट विक्री हुन्छन् ।
सिजनमा मासिक १० करोडसम्मको कारोबार हुने गरेको उनको भनाई थियो । “यो वर्ष ८० करोड बराबरको कारोबार गर्ने तार्गेट छ ।” उनले भने । मोवाईलप्रतिको जानकारी दिने उद्देश्य राख्दै संघले यही पुस २७ गतेदेखि पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजना हुने औद्योगिक व्यापार मेलामा मोवाईल एक्स्पो समेत गरिने मोवाईल वितरण संघले जनाएको छ ।