पोखरामा भ्यागुताको विहे–जन्ती र रत्यौलीमा रमाए किसान

कविराज खनाल
लेखनाथ, साउन ७ ।
मानिसको विहे हुनु तपाई हाम्रा लागि नौलो हैन । अचम्म मान्नुपर्ने कुरा के नै छ र ? भ्यागुताको विहे कहिलेकाहीँ सुन्नुभएको होला । तर अचेल त्यो चलन खासै छैन । त्यस्तै अचम्मको विहे भएको छ, पोखरामा । भ्यागुतोको विहे, त्यो पनि धुमधामका साथ । २ सय भन्दा वढि जन्ती, भोज भतेर सहित टिकाटालो । जग्ये सहित पण्डितले हवन गरे । महिलाहरु रत्यौली खेले अनि पुरुषहरु जन्ती गए । त्यसपछि सकियो भ्यागुताको विहे ।

साउन को पहिलो साता वितिसक्दा पनि पर्याप्त पानी नपरेर धान रोप्न नपाएपछि वर्षाका देवता ईन्द्रदेवलाई खुशी पार्न किसानहरुले भ्यागुताको विहे गरिदिएका हुन् । पोखरा ३२ मालेपाटनका किसानहरुले एकजोडी भ्यागुतालाई सिंगारेर विहे गराएका हुन् ।

ईन्द्रदेवता खुशी भए भने पानी पर्छ भन्ने जनविश्वास रहीआएको छ । यहि विश्वासका कारण उनिहरुले १ जोडि भ्यागुता खोजेर धुमधामका साथ विहे गराईदिए । बिहेका लागि बेहुला भ्यागुतो र बेहुली भ्यागुतोलाई फरक गाउँबाट जोडी बनाइयो । त्यस्तै बेहुली भ्यागुतोलाई स्थानीयले दाइजो समेत दिए, त्यसपछि दुवै भ्यागुतालाई नजिकैको कुलोमा छाडीदिए अनि बिहे सम्पन्न भयो ।

किसानहरुले रोपाईंका लागि तयार गरिएको बीउ छिप्पिइसकेको अवस्थामा पनि पानी पर्छ कि भन्ने आशामा भ्यागुताको विहे गराएर इन्द्रको आराधना गर्दै ‘हरहर महादेव पानी देऊ देऊ ऐतीले त पुगेन अझ थपीदेऊ’ भन्दै पानी मागेका हुन् ।

जब पानीको सुक्खा लागेर खडेरी पर्न थाल्छ, तब ठाउँ अनुसारका मानिसहरु पानी पार्न अनौठो जुक्तिहरु निकाल्छन् । तराई क्षेत्रमा सोमबार इन्द्रको पुजा गरिन्छ भने कतै दौरा सुरुवाल लगाएर महिलाले हलो जोत्छन् । मालेपाटनका प्रगतीशील आमा समुहको सकृयता र मालेपाटन कृषि समुहका अध्यक्ष नारायण वाग्लेको संयोजनमा जोडी भ्यागुताको विहे गरी इन्द्र भगवान्सँग पानी मागिएको स्थानीय किसान सावित्री पण्डितले बताईन् ।

खडेरीले यस क्षेत्रका झण्डै ६ सय रोपनी क्षेत्रफलको धान फल्ने खेत अहिलेसम्म पनि बाँझै छ । नेपालको चेरापुञ्जी (सबैभन्दा धेरै पानी पर्ने ठाउँ) को रुपमा परिचित पोखरा र आसपासका क्षेत्रमा यो बर्ष राम्रोसँग बर्षा हुनै सकेको छैन । गण्डकी प्रदेशमा १ लाख ४९ हजार ७२५ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको सरकारी तथ्याड्ढ छ ।

देशैभरी बर्षा र बाढी चलिरहँदा पोखरामा सुख्खा लागेका कारण खेती गर्न नपाएको किसानहरुको गुनासो छ । मालेपाटन, ढोडवेंसी, देउराली फेदी आसपासका फाँटमा पानीकै अभावमा धान रोप्न नपाएपछि स्थानीयले भ्यागुतोको बिहे गरी इन्द्रको पूजा गरेका हुन् । समाचार आदर्श समाज दैनिकमा छापिएको छ ।