पोखरामा भेटिए ३८७ गिद्ध

पोखरा, असोज ५ ।
पोखरा र आसपासका क्षेत्रमा तीन सय ८७ गिद्ध भेटिएका छन् । यस वर्षको गणना सम्पन्न भएको जनाउँदै तीन सय ८७ गिद्ध भेटिएको पोखरा पंक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिए । समाजले १० वर्षदेखि प्रत्येक वर्ष पोखरा र आसपासका क्षेत्रमा पाइने गिद्धको गणना गर्दै आएको छ ।

समाजले यस वर्ष पोखरा आसपासका घाचोक, पुम्दीभुम्दी, पुरानो एवं नयाँ ल्यान्डफिलसाइट र दोभिल्लाका साथै तनहुँका व्यास नगरपालिका–१० स्थित शिशुवाभतेरी, शुक्लागण्डकी नगरपालिकास्थित गौ संरक्षण केन्द्र र दमौलीस्थित ल्याण्डफिल साइडमा गिद्धको गणना गरेको थियो ।

पछिल्ला समयमा बासस्थानका कारण बर्सेनि गिद्धहरू संकटमा पर्दै गएको घिमिरेले बताए । घिमिरेका अनुसार विश्वमा पाइने २३ प्रजातिका गिद्धमध्ये दक्षिण एशियामा नौ प्रजातिका गिद्ध पाइन्छन् । दक्षिण एशियामा पाइने नौ प्रजाति नेपालमा पनि पाइने र ती सबै प्रजाति पोखरामा पाइने उनले बताए । पोखरा आसपासमा गरिएको गणनामा सेतो गिद्धको संख्या सबैभन्दा बढी देखिएको र राज गिद्ध एउटा मात्र फेला परेको घिमिरेले जानकारी दिए ।