पोखरामा भयावह लागू औषध, सिकारमा यूवा जमात

प्रकाश ढकाल
पोखरा, साउन ३ ।
एकमहिना अघि पोखराको उत्तमचोकबाट ठूलो मात्रामा लागू औषध सहित एकजना पक्राउ परे । उनलाई पक्रिन प्रहरीले गोली नै चलाउनुप¥यो । रामबजारका गोविन्द थापाको साथबाट १ हजार ५ सय थान लागू औषध बरामद गरियो । उनले धेरै लामो समयदेखि लागू औषध कारोबार गर्दै आएका प्रहरीको दावी छ । जेठको अन्तिम दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अगाडीबाट १ हजार ९ सय २ थान लागू औषध सहित डेविड तामाङ पक्राउ परे । त्यसको केहीदिनअघि बुद्धचोकबाट देवीकुमारी गुप्ता ९ सय थान लागू औषध सहित समातिईन् । बरामद भएकामध्ये सबैभन्दा धेरै डाईजापाम, बुप्रिनर्फिन र फेनरागनको सेट छ ।

गएको साउनदेखि अहिलेको असार मसान्तसम्म कास्कीका विभिन्न ठाउँबाट बुप्रिनर्फिन, डाईजापाम र फेनरागनको ६ हजार १ सय २० सेट बरादम भएको छ । प्रहरीले यसलाई निकै ठूलो तथ्यांक मान्छ । पोखरामा सबैभन्दा धेरै सुईबाट (इन्जेक्सन) ड्रग लिनेहरु रहेको प्रहरीको तथ्यांक छ । त्यसपछि चक्की (ट्यावलेट) लागू औषध प्रयोग गर्नेहरु छन् । यही अवधीमा कास्कीबाट ४ हजार ७ सय चक्की नाइट्रोसन बरामद गरेको छ । यसबाहेक, ४१ किलो गाँजा, २६ किलो ब्राउन सुगर, ३ सय ८७ बोतल फेन्सिडिल र ३ सय ८२ चक्की ट्रामाडोल समातिएको कास्की प्रहरीले जनाएको छ । लागू औषधमा १ सय ७० वटा मुद्धा दर्ता भएको छ भने २ सय ५९ जना पक्राउ परेका छन् ।

पोखरामा हाल १० हजार हाराहारीमा लागू औषध प्रयोगकर्ता रहेका टेकबहादुर लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराका इन्स्पेक्टर टेकबहादुर रावतले जानकारी दिए । २०६७ मा गरिएको एक अध्ययनले चाहीँ ७ हजार प्रयोगकर्ता रहेको देखाएको थियो । रावतका अनुसार सबैभन्दा धेरै पारिवारिक तनावका कारण लागू औषधमा लाग्ने गरेका छन् । ‘५० प्रतिशतभन्दा बढी बाबुआमाको सम्बन्ध खटपट भएका र आमाबाबुको माया नपाएकाहरु छन् । घरपरिवारको केयरलेस नै मुख्य कारण हो,’ उनले भने, ‘साथीसँगती र कौतुहलताले पनि ड्रग युजरहरु बढेका छन् ।’

इन्जेक्सनजन्य सबै लागू औषध भारतबाट नेपाल भित्रिन्छन् । वीरगञ्ज र सुनौली नाका हुँदै पोखरामा रावतले बताए । ‘धेरैजसो प्रयोगकर्ता नै सीमानामा पुगेर ड्रग ल्याउछन् । केही चाहीँ पैसा कमाउने उद्देश्यले आँफू प्रयोग नगरेपनि ल्याएर बेच्नेहरु छन्,’ उनी भन्छन्, ‘ड्रगविना बाँच्न नसक्नेहरु आफ्नै लागि ल्याउने र लुकाउन नसकेर आसेपासेलाई बेच्नेहरु पनि छन् । केहीले आफ्नै खर्च पु¥याउन नियमित विक्रि वितरण गर्छन् ।’ श्रोतका अनुसार आईएमीबाट बोर्डर नजिक पैसा पठाउने र सीमानामा बस्नेहरुले पोखरासम्म लागू औषध पठाईदिन्छन् ।

प्रहरीको तथ्यांकमा लागू औषध प्रयोग गर्नेमध्ये सबैभन्दा धेरै २० देखि ३० बर्ष उमेरका मानिसहरु छन् । १५ देखि १९ बर्षकाहरु चाहीँ सिकारुका रुपमा तयार हुन्छन् । ड्रगलाई कडा बनाउनका लागि फेनरागन, डाईजापाम र बुप्रिनर्फिनको कम्बिनेसन (संयोजन) मिलाएर प्रयोग गर्छन्, प्रयोगकर्ताहरु । भारतमा ३ सय रुपैयाँमा खरिद गरेर ल्याईएका यस्ता लागू औषध पोखरा आएपछि १ हजार ८ सय रुपैयाँसम्म विक्रि हुन्छ । ‘कोकिन, अफिम जस्ता लागू औषध पोखरामा प्रयोग हुन्न । ब्राउन सुगर केही मात्रामा प्रयोग हुन्छ । विदेशीले विरलै प्रयोग गर्छन् । लेकसाईड क्षेत्रमा गाँजा र चरेस बेच्छन् । विदेशीले त्यो प्रयोग गर्छन्,’ इन्स्पेक्टर रावतले अघि भने, ‘बाहिरका मान्छेलाई भन्दा नियमित प्रयोगकर्तालाई केन्द्रीत गरेर भारतबाट ड्रग्स भित्रिन्छन् ।’

उनीहरुको लत छुटाउन पोखरामा १३ वटा रिहाव (पुनस्थापना केन्द्र) सेण्टरहरु खुलेका छन् । क्षेत्रीय अस्पतालले पनि नियमित रुपमा मेथाडिन औषधी खुवाउँछ । १ सय २ जना अहिले पनि नियमित उपचारमा छन् । २ वटा महिलाका लागि र ११ वटा पुरुषका लागि रिहाव सेण्टर स्थापना भएको लागूऔषधको क्षेत्रमा काम गर्दै आएको कम्युनिटी सपोर्ट ग्रुपका कार्यकारी निर्देशक दीलिप गुरुङले जानकारी दिए । ति सेण्टरहरुमा ५ सयको हाराहारीमा युजरहरु छन् । उनका अनुसार पोखरामा लागू औषध प्रयोगको अवस्था दिनहूँ जटिल बन्दै गएको छ । उनी चाहीँ साथीभाईको दवावका कारण प्रयोगकर्ता बढेको तर्क गर्छन् । ‘कुलतमा लाग्ने कारण साथीहरुको प्रेसर हो । टिनएजमा लागेपछि उदण्ड बन्न रुचाउनेहरु पनि छन् । घरमा राम्रो वातावरण नभएपछि यतातिर लाग्छन्,’ उनले भने, ‘रेखदेख गर्ने मान्छेहरु घरमा छैनन् । चाडपर्व र मेला उत्सवले पनि कुलतमा लाग्न प्रश्रय थपेको छ ।’

केहीबर्ष अघिसम्म बुप्रिनर्फिनमात्रै सुईबाट लिने प्रयोगकर्ताहरुले अहिले फेनरागन र डाईजापाम समेत मिसाएर प्रयोग गर्छन् । ‘पहिले एउटामात्रै चलाउँथे । अहिले स्ट्रङ बनाउन तीनवटाको कम्बिनेसन मिलाएर चलाउन थाले,’ गुरुङ भन्छन्, ‘यो अवस्था निकै डरलाग्दो हो । बेलैमा बिशेष कार्यक्रम ल्याउनुपर्छ । नत्र बर्षेनी यसको दर बढ्दै जान्छ र पूरै सहर नै शिथिल बन्न सक्छ ।’ फेनरागन एण्टी एलर्जीको औषधी हो । डाईजापाम निन्द्रा लाग्ने र बुप्रिनर्फिन दुखाई कम गराउनका लागि प्रयोग हुन्छन् । तर यि तीनवटै औषधी अहिले निषेधित छन् ।

सुईबाट लागू औषध प्रयोग गर्नेमध्ये करिब ५ प्रतिशतलाई एचआईभी संक्रमण हुन्छ । पहिले यो दर २२ प्रतिशतसम्म थियो । अहिले चाहीँ प्रयोगकर्ताहरुमा सचेतना बढेका कारण एचआईभी घटेको गुरुङको अनुभव छ । ‘एउटै सुई धेरैले प्रयोग गर्थे । यसबाट रोग सर्ने प्रवल सम्भावना थियो,’ उनले भने, ‘अहिले एक्लै प्रयोग गर्नेहरु छन् । त्यसमाथी कलेज बढ्दै गरेका र स्कूल छोडेकाहरु धेरै भए । उनीहरुमा रोगबाट बच्नुपर्छ भन्ने सचेतना चाहीँ छ ।’

कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्की तिब्र सहरीकरण भएका ठाउँमा लागू औषध कारोबारी सक्रिय रहेको बताउँछन् । ‘लागू औषध प्रयोगकर्तालाई हेर्दा कि धेरै धनीका छोराछोरी छन्, कि भने गरिवका छोराछोरी छन् । यसको अर्थ नै बाबुआमाको केयरलेस हो भन्ने बुझिन्छ,’ उनले भने, ‘यसलाई रोक्न सप्लाई कन्ट्रोल र डिमाण्ड रिडक्सन कार्यक्रम प्रहरीले चलाईरहेको छ । साना बाबुनानी र उनीहरुका अभिभावकलाई लागूऔषधको भयावह अवस्थाबारे जानकारी गराउने र बेफाईदाबारे सचेत गराउने हो । त्यसपछि लागू औषधका डिलरहरु भत्काउने । युजरको लिंक टुटाउने र चेकजाँचलाई कडाई गरेका छौं ।’ उनका अनुसार जिल्ला प्रहरीमा परेका मुद्धा र कारागारमा कैद भुक्तान गरेकाहरु हेर्दा सबैभन्दा धेरै अपराध लागूऔषध सँग सम्बन्धित छन् ।

कास्कीमा बर्षेनी यसको दर बढ्दो छ । आर्थिक बर्ष २०७२÷०७३ मा ७३ वटा मुद्धा लागू औषध सम्बन्धि थियो भने २०७३/०७४ मा ७५ पुग्यो । अघिल्लो बर्ष त्यो बढेर १ सय ४० मुद्धा लागू औषध केन्द्रीत थियो भने अहिले १ सय ७० वटा मुद्धा छन् । लागूऔषध कारोबारीहरु पनि सोही अनुपातमा बर्षेनी बढिरहेको छ ।