पोखरामा बाबुको किरिया गर्न छोरीलाई रोक (पढ्नुस् पूरै)

पोखरा, साउन १३ ।
पोखरामा छोरीले बाबुको किरिया गर्न खोज्दा रोकिएको छ । पोखरा ६ लेकसाइडका मधु सुवेदीको शुक्रबार राती कार दुर्घटनामा मृत्यु भएको थियो । उनको शनिबार दाहसंस्कार गरियो । छोरी ममता सुवेदीले उनलाई दागबत्ति दिईन् ।

तर किरिया बस्न भने रोक लगाईएको छ । बाबुको किरिया बस्ने ममतालेब ताएपनि आफन्तहरुले नै उनलाई रोकेका हुन् । मधुको किरिया उनका भाइ हरि सुवेदीले गरेका छन् । काका र भतिजीले सँगै किरिया गर्न नमिल्ने भन्दै आफन्तले ममतालाई किरिया गर्न रोकेका हुन् ।

तर मानवअधिकार कर्मीहरुले चाहीँ महिलाको अस्थित्व स्विकार नगरिएको आरोप लगाएका छन् । ‘बाबुको किरिया बस्न छोरीले पाउनुपर्छ । यहाँ पितृसतात्मक कुरा गरेर छोरीलाई किरिया बस्न दिईएन, गैर सरकारी संस्था महासंघ गण्डकी प्रदेशकी प्रमुख विना सिलवालले भनिन्–समाजमा अझै पनि छोरीको अस्थित्व स्विकार गरिएन । यो मानव र महिला अधिकार विपरित काम भयो ।’

मृतक मधुका दाजु खेमराज सुवेदी चाहीँ आफुँहरुको संस्कारमा काका र भतिजीले सँगै किरिया गर्ने परम्परा नरहेको बताउँछन् । ‘हाम्रो संस्कारमा छोराले किरिया गर्दा पनि आमा छुट्टै किरिया बस्छन् । छोरीले किरिया गर्दा सँगै काकाले गर्न मिल्दैन, उनले भने–अधिकार भन्दा संस्कार ठूलो कुरा हो । चलिआएको संस्कार मान्नैपर्छ ।’ छोरीले किरिया गर्ने कुराको आफुँले विरोध नगर्ने भन्दै उनले छुट्टै किरिया बस्न आग्रह गरे ।

छोरी किरिया बसे आँफुहरुले छोड्ने आफन्तको प्रतिक्रिया पछि ममताले किरिया गरेकी छैनन् । ‘बुबाले हामीलाई हेरेर छोरा जन्माउनु भएन । कहिलेकाहीँ कुरा हुँदा किरिया पनि हामीलाई गर्नु भन्नुहुन्थ्यो, मधुकी छोरी ममताले भनिन्–मलाई बुबाको किरिया बस्न मन छ । तर दिईएन ।’ मधुका दुई छोरीहरु मात्रै छन् ।

किरियाकर्ममा सहयोगी पण्डित नन्दराम अधिकारीले पनि शास्त्रमा छोरीले किरिया बस्न नहुने उल्लेख नभएको भन्दै बाबुछोरी चाहीँ सँगै बस्न नहुने तर्क दिए ।