पोखरामा बरामद भएको ३२ लाख विदेशी पैसा–के हो यथार्थ ?

पोखरा, मंसिर ८ ।
शुक्रबार कास्की प्रहरीले लेकसाईडको एउटा होटलबाट मोटो रकम सहित दुईजनालाई पक्राउ ग¥यो । डलर, युरो, पाउण्ड र भारु सहित करिब ३२ लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ । पैसाको कारोबार गर्ने एक भारतीय र एक नेपालीलाई पक्राउ गरिएको छ ।

पैसा बरामद भएपछि पोखरामा अहिले विभिन्न खाले टिप्पणी हुन थालेका छन् । केही अनलाईनले लेनदेनमा कुरा नमिलेपछि घटना बाहिर आएको समेत उल्लेख गरेको छ । तर प्रहरी चाहीँ लेनदेनका कुनै कुरा नभएको दावी गर्छ ।

बैदाम प्रहरी प्रमुख डिएसपी नवीन कार्कीले झुटा समाचार बाहिर आएको प्रतिक्रिया दिए । ‘हामीले पक्राउ गरेका मान्छे र बरामद भएको रकम जस्ताको त्यस्तै मुचुल्का गरेर काठमाण्डौं पठाएका छौं । विदेशी मुद्राको मुद्धा राजश्व अनुसन्धान विभागले हेर्ने हो, उनले भने–सत्यता यही हो । बाँकी सबै फेक हुन् । भ्रममा नपर्न आग्रह गर्छु ।’

तर प्रहरीले केही गल्ती भने छोपेको छ । सामान्य घटना हुँदा र केही अनैतिक क्रियाकलाप गर्ने ब्यक्ति पक्राउ गर्दा पनि होटल र सञ्चालकको नाम खुलाउने कास्की प्रहरीले शुक्रबार त्यति धेरै विदेशी रकम बरामद गर्दा पनि होटल र सञ्चालकको नाम लुकाएर घटना सार्वजनिक ग¥यो । यसले केही शंका गर्ने ठाउँ भने छोडेको छ । होटलको नाम र सञ्चालक लुकाएकै कारण शंका बढेको श्रोत बताउँछ । ‘लेनदेनको कुरा त थाहा भएन । तर होटलको सञ्चालक र नाम किन लुकाईयो ? यो चाहीँ अचम्म भयो, ति ब्यक्ति भन्छन्–नाम उल्लेख गरेको भए शंका पहिले नै हराएर जान्थ्यो ।’ नाम नखुलाउँदैमा धेरै शंका गर्नु पर्ने अवस्था नरहेको अर्काथरी बताउँछन् ।शुक्रबार लेकसाइडस्थित महेन्द्र भोटे उर्फ शिव गुरुङले सञ्चालन गरेको कुमारी स्टार इन होटलबाट रकम र मान्छे समातिएका हुन् । पक्राउ परेका भारतीय नागरिक बिनयकुमार बबुलाल शाह गुजरातका महाठग हुन् । श्रोतका अनुसार उनी २ सय करोड भारु ठगी गरेर नेपाल छिरेका हुन् । शाहको नाममा दर्जनभन्दा बढी मुद्धा भारतमा छ । उनीसँगै पक्राउमा परेकी काठमाण्डौंकी चन्दा थापा समेत पहिले देखि नै ठगीमा रहेको बताईएको छ ।