पोखरामा बन्ने भनिएको १८ तले अपार्टमेण्ट अलपत्र

पोखरा, असोज २३ ।
वि एण्ड वि ग्रुपले पोखरामा १८ तले अपार्टमेण्ट निर्माण गर्ने योजना सहित केही समयअघि मुख्यमन्त्रीबाट प्रि लञ्चिङ कार्यक्रम गर्यो । त्यतिबेलै धेरैले अपार्टमेण्ट बुकिङ समेत गरे । अति महत्वाकांक्षी मानिएको अपार्टमेण्ट निर्माणको लागि जग्गा सम्याउने काम थालिएको छ । तर सम्बन्धित स्थानीय सरकार पोखरा महानगरपालिकाले चाहीँ अपार्टमेण्ट निर्माणको स्विकृति दिएको छैन ।

अपार्टमेण्ट निर्माणबारे आफुलाई औपचारिक जानकारी नै नभएको मेयर मानबहादुर जिसी बताउँछन् । ‘कानूनमै व्यवस्था नभएको कुरा हामीले स्वीकृति दिने कुरै भएन । यसको स्विकृति मिल्दैन–मेयर जिसीले भने ।’

हालसम्म पोखरा क्षेत्रभित्र बढीमा साढे ३ तलाभन्दा अग्लो घर बनाउन नपाईने नीति छ । त्यसमाथी फेवाताल आसपासमा साढे २ तलाको मात्रै घर बनाउन पाईन्छ । तर महानगरपालिकाले ठूला संरचना निर्माणको स्विकृति दिने गरि मापदण्ड नै परिमार्जनको तयारी गरिरहेको छ ।

महानगरले गठन गरेको विज्ञ समूहले ४० तलासम्मको घर बनाउन मिल्ने गरी प्रश्ताव तयार गरेको हो । जग्गाको आकार हेरेर ४० औं तलासम्मको अग्लो घर पोखरामा बनाउन मिल्ने गरि मापदण्ड तय गरिनुपर्ने विज्ञ समूहका संयोजक भरत पहारीले बताए । कमजोर भू वनोट रहेको पोखरामा ठूला संरचना बनाउनु दुर्घटना निम्त्याउनु सरह भएको भन्दै केही विज्ञले चाहीँ यसलाई स्विकार गरेका छैनन् ।

केही स्थानीयहरुले परिकल्पनामै रहेको अपार्टमेण्टको विरोध पनि गरेका छन् । दिर्घकालिन सुरक्षा र सम्भावित दुर्घटना तर्फ सचेत रहन उनिहरुले आवाज उठाइरहेका छन् ।

अपार्टमेन्टका परिकल्पनाकार विमल वसेल चाहीँ पोखरामा पर्यटकको आकर्षण बढाउनकै लागि अपार्टमेण्टको अवधारणा ल्याएको बताउँछन् । चौतर्फि विरोधपछि लगानीकर्ताको रकम समेत फिर्ता गरिदिएको उनले सुनाए । बसेलले राज्यको नीति अनुसार निर्णय गर्ने बताएका छन् ।

‘अहिलेलाई काम रोकिएको छ । अव राज्यले कस्तो नीति बनाउँछ त्यसपछि अगाडी बढौंला, उनले भने–पर्ख र हेरको अवस्थामा छु ।’-सराङकोट