पोखरामा पेट्रोल अभाव, पम्पहरुमा गाडीको लाइन

पोखरा, असोज ४ ।
पोखरामा पेट्रोलियम पदार्थको अभाव सुरु भएको छ । ठप्पै नभएपनि पेट्रोल पम्पहरुले चाहेजति डिजेल पेट्रोल दिएका छैनन् । पोखरामा २ दिनदेखि पेट्रोलियम पदार्थ आएको छैन ।

पहिले पनि आवश्यक्ता भन्दा कम आउने गरेको थियो । ‘आंशिक अभाव देखिन थालेको छ । २ गतेदेखि डिजेल पेट्रोल केहीपनि आएको छैन, गण्डकी धवलागिरी पेट्रोलियम डिलर्स एशोसियसनका उपमहासचिव मोहन सुवेदीले भने–केही दिनभित्र ठप्पै हुने अवस्था आउन सक्छ ।’

पोखरा सहित आसपासमा दैनिक डेढलाख लिटर पेट्रोल र ४ लाख लिटर डिजेल खपत हुन्छ । ट्यांकर चालकको आन्दोलनका कारण पेट्रोलियम पदार्थ आयात नभएको सुवेदीले बताए । पोखरामा पेट्रोलियम भण्डारण क्षमता पनि निकै कम छ ।

यस क्षेत्रमा ६० को हाराहारीमा पेट्रोल पम्पहरु छन् । यहाँबाट तनहुँ, कास्की, स्याङजा, पर्वत, बागलुङ र म्याग्दी जिल्लामा तेल वितरण गरिन्छ । पोखरामा १० बर्ष अघिको मागलाई सम्बोधन गर्ने गरी भण्डारण निर्माण गरिएको थियो ।

त्यसपछि अहिलेसम्म स्तरबृद्धी भएको छैन । पेट्रोलियम ब्यवसायीहरुले पनि पेट्रोलियम पदार्थको भण्डारणमा कमी भएकाले धेरै स्टक राख्न नसकेको बताएका छन् ।