पोखरामा पक्राउ भारतीय ठग ‘पोन्जी’ प्रकरणका मास्टरमाइन्ड

काठमाण्डौं, मंसिर १२ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार विदेशी मुद्रा सहित एक भारतीय र एक एक नेपाली महिलालाई पक्राउ गर्यो । पक्राउ पर्नेमा भारतीय विनायककुमार बाबुलाल साह र काठमाडौं महानगरपालिका–३५ की चन्दा थापा थिए । उनीहरुलाई कास्की प्रहरीले लेकसाइडको एक होटलबाट पक्राउ गरेको थियो ।

 

उनीहरुको साथबाट प्रहरीले नेपाली रुपैयाँ २४ हजार ८ सय ५, भारतीय रुपैयाँ २ हजारको नोट ४३ थान, भारतीय रुपैयाँ ५ सयको ११ थान, भारतीय रुपैयाँ १ सयको ९० थान, अमेरिकन डलर सयको १ सय ९७ थान, अमेरिकी डलर ५० को ५ थान, अमेरिकी डलर २० को २ थान, अमेरिकी डलर १० को एक थान, युरो ५ सयको ४ थान, युरो ५० को ७ थान, इंग्ल्यान्डको पाउन्ड ५ को दुई थान नोट बरामद गरेको थियो । प्रहरीले उनीहरूको साथबाट अमेरिकी डलर, भारतीय रुपैयाँ, बेलायती पाउन्ड तथा युरो गरी ३१ लाख २८ हजार ७ सय ९ रुपैयाँ (कुल नेपाली रुपैयाँ) बरामद गरेको थियो ।

 

तर उनी विदेशी मुद्रा कारोबारी भन्दा फरक चरित्रको अपराधमा पनि संलग्न भएको खुलेको छ । साह भारतीय प्रहरीको खोजी सूचीमा समेत थिए । उनी अहमदावादमा भएको एक ठगीमा भारतीय प्रहरीको खोजी सूचीमा समेत थिए । ’पोन्जी’ प्रकरणले चिनिएको उक्त ठगीमा साहले २६० करोड भारु ठगेर फरार भएका थिए ।

 

प्रहरी प्रवक्ता उत्तमराज सुवेदीका अनुसार पोखरामा पक्राउ परेका उनलाई राजस्व अनुसन्धान विभागमा बुझाइएको छ । भारतीय सञ्चारमाध्यममा सार्वजनिक भएका समाचारहरुका अनुसार उनलाई भारतीय सरकारको आग्रहमा पोखराबाट पक्राउ गरिएको हो ।

 

पीटीआइका अनुसार अहमदावादका विभिन्न प्रहरी स्टेसनमा साहका विरुद्ध उजुरी परेपछि उनी दुई हप्तादेखि फरार थिए । ’उनी फरार भएपछि हामीले नेपाल सरकारलाई आग्रह गरेका थियौं । उनी नेपालमा विदेशी रुपैयाँ सहित पक्राउ परेका छन्,’ गुजरातका उच्च प्रहरी अधिकारी हरिस डुट्टा ले पीटीलाईसँग भनेका छन् । उनले साहलाई छिट्टै भारत ल्याइने समेत बताएका छन् । नेपाल र भारतबीच सुपुर्दगी सन्धि नभए पनि आपसी समझदारीमा अपराधी हस्तान्तरण गरिँदै आएको छ ।

 

प्रहरीको खोजी सूचीमा उनकी श्रमती भार्गवी समेत छन् । उनी उक्त ठगी प्रकरणकी अभियुक्त समेत हुन् । यस अघि भारतीय प्रहरीले उनको घरबाट ४३ लाख भारतीय रुपैयाँ समेत बरामद गरेको थियो । साहले अहमदावादमा डिजी लोकल र एलएलपी नामका दुई कम्पनी खडा गरेर ठगी गरेका थिए । उनले त्यहाँ सेयर लगानी गर्नेलाई डबल दिने भन्दै प्रचार गर्दै ठगी गरेका थिए । रकम उठ्ने क्रम उच्च भएपछि उनी फरार भएका थिए ।