पोखरामा नेपाल–चीन ड्रागन बोट रेस हुने

पोखरा, असार १ ।
पोखरामा पहिलो पटक नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल हुने भएको छ । चिनियाँ पर्यटक बढाउन र नेपाल चीनबीचको सम्बन्ध सुमधुर बनाउन असार ८ र ९ गते प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगिताबारे शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराइको छ ।

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा फेवातालमा बोट रेस हुन लागेको हो । फेस्टिभलमा चिनको लिङजी नगरबाट नगर उपप्रमुख सहित ६० जनाको टोली विमान चार्टर्ड गरेर पोखरा आउने छन् ।

नेपालको सातैवटा प्रदेश र चीनका गरी १ सय २० जना प्रतियोगी सहभागी हुने आयोजकले जनाएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक सोही दिन अन्तर्राष्ट्रिय उडान हुनेछ ।

फेस्टिवलको औपचारिक उद्घाटनसँगै पहिलो २ सय मिटर र पछि ५ मिटर गरी दुई वटा भागमा ८ वोटको रेस हुनेछ । प्रतियोगितामा विजयी हुने प्रतियोगीलाई नगद ३० लाख, मेडल र प्रमाण–पत्र वितरण गरिने छ ।

रेसकै लागि चीनबाट आठ वटा बिशेष खालका डुंगा ल्याएको छ । उक्त डुंगा खेल सकिएपछि पोखरामै छोड्ने बताइएको छ । प्रतियोगिताले थलिएको पर्यटन पुनरुत्थानमा सहयोग पुग्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोम नारायण श्रेष्ठले जानकारी दिए ।