पोखरामा दिनहूँ साढे २ करोडको सुन विक्री

प्रकाश ढकाल
पोखरा, भदौ १३ ।
पर्वतका खरिलाल विश्वकर्मा २०१५ सालदेखि पोखराका सुन ब्यापारी हुन् । पोखरामा रहेको भारतीय पेन्सन क्याम्पभित्रको सुन पसलमा काम थाल्दा रामबजारमा आठ दशवटा खरको झुप्रे घरहरु थिए, गाउँघरतिरबाट भट्टी पसल चलाउन झरेकाहरु बस्थे । २०१६ सालदेखि भारतीय पेन्सन क्याम्प स्थापना भएपनि त्यो भन्दा पहिले नै अस्थायी रुपमा पेन्सन बाढिन्थ्यो । पेन्सन क्याम्पमा लाहुरेको परिवारलाई लक्षित गरी ११ वटा सुन दोकान खुलेका थिए । जतिबेला सय रुपैयाँ तोलामा सुन किनबेच हुन्थ्यो । ‘काँचो सुन कहिलेकाहीँ देख्थ्यौं नत्र पूराना सुन खारेर बेच्थ्यौं । ग्राहक पूरै लाहुरे परिवार मात्रै हुन् । पेन्सन बुझ्न आउँदा अलिअलि सुन किनेर फर्किन्थे, खरिलाल भन्छन्–कोही लाहुरे चाहीँ काँचो सुन बोकेर पनि आउँथे । हामी त्यो किन्थ्यौं ।’

०१५ सालतिर पोखरामा मुश्किलले पन्ध्र बीसवटा सुन पसल थिए । क्याम्प बाहिर मोहोरिया टोलमा सुनचाँदी पसल खुलेका थिए । मोहोरिया टोल पोखराको सबैभन्दा पूरानो बजार हो । त्यहाँ अहिलेपनि धेरै सुनचाँदी पसलहरु चालू अवस्थामा छन् । क्याम्पभित्र सुनका पसल अहिले छैनन् । तर क्याम्प र मोहोरिया टोलबाट पोखरा भरी नै सुनचाँदीका पसल विस्तार भएका छन् । अरु शहरहरुमा पुर्खाको पेसा धान्ने काम मात्रै हुन्थ्यो, जतिबेला पोखरामा राम्रो ब्यवसाय बनिसकेको थियो ।

पोखरा सहित नेपालका ४ शहर निर्माणमा लाहुरेको योगदान सबैभन्दा अगाडी छ । बुटवल, धरान र नारायणगढलाई पनि लाहुरेले बनाएको शहर भनेर चिनिन्छ । त्यसबाहेक पनि पोखरा पर्यटकीय शहर हो । तुलनात्मक रुपमा पोखरामा बसोबास गर्नेहरु बढी सम्पन्नशाली रहेको तथ्याकं नेपाल सरकारसँग छ । सुनलाई सम्पन्नतासँग जोडिन्छ । त्यसैले पहिलेदेखि नै सुन र पोखराको चाँजोपाँजो पनि राम्रैसँग जमेको छ । खरिलालको ६० बर्षे ब्यवसायिक यात्रामा ४ सय हाराहारीमा सुनचाँदी पसलहरु खुलिसकेका छन् । पोखरामा पछिल्लो समय निकै चल्ने ब्यवसाय हो सुनचाँदी कारोबार । पछिल्लो दुईबर्षमा मात्रै कास्कीभित्र डेड सय हाराहारीमा नयाँ पसलहरु खुलेका नेपाल सुनचाँदी ब्यवसायी संघ कास्कीले जनाएको छ । कारोबार गरिरहेपनि सबै पसलहरु नवीकरण भने भएका छैनन् ।

‘सुन ब्यापारमा पनि सिजन र अफसिजन चल्छ । चाडबाडको बेला सामान्य दिनभन्दा दोब्बर माग हुन्छ, नेपाल सुनचाँदी ब्यवसायी संघका कार्यबहाक अध्यक्ष भविन्द्र विश्वकर्मा भन्छन्–अहिले दैनिक ६ किलोसम्म सुन बेच्न सक्छौं । सामान्य दिन ३ किलो सुन विक्रि हुन्छ ।’ खासगरी जनैपूर्णिमापछि पोखरा सहित नेपालभरी नै सुनचाँदीको ब्यापार राम्रो हुन्छ । ‘तिज, दशैं र तिहार सबैभन्दा बढी सिजनको समय हो । त्यसबाहेक विवाहको लगन भएका महिनामा पनि राम्रो ब्यापार हुन्छ, विश्कर्माले थपे–तर बजारको माग अनुसार सुन आपुर्ति हुन सकेको छैन । कहिलेकाहीँ ग्राहकलाई रित्तै फर्काउनुपरेको छ ।’

राष्ट्रबैंकले सुन खरिद गरेर सुनचाँदी ब्यवसायी महांसघलाई विक्रि गर्छ । महासंघले देशभरका आफ्ना शाखा मार्फत सुन भाग लगाउँछ । पोखरामा पनि सुनचाँदी ब्यवसायी संघले आफ्नो संस्थामा दर्ता भएका पसलहरुलाई ब्यापार हेरेर सुन विक्रि गर्छ । विश्वकर्माका अनुसार पोखरामा हाल साताभरीमा ३ किलो मात्रै सुन आउने गरेको छ । नेपालभरी ३० किलो सुन आपुर्ति दैनिक हुन्छ । अहिले राष्ट्रबैंकले १० किलो बढाएको भन्ने सुनिएको छ, उनी भन्छन्–पोखरामा त साताको ३ किलो सुन आउँछ । ब्यवसायीलाई भाग पु¥याउनै कठिन छ ।’

लाहुरे र केही घरानीयाँ परिवारबाट सुरु भएको पोखराको सुनचाँदी ब्यवसाय अहिले निकै फेरिएको छ । उच्च घराना सहित सामान्य परिवारले पनि सुनचाँदी किन्ने र दुख पर्दा बेच्ने गरेका छन् । त्यसैले सुनको किनबेच पोखरामा अधिक हुन्छ । तथ्याकंले सिजनका बेला पोखरामा दैनिक साढे दुई करोड भन्दा बढीको सुन कारोबार हुने देखाउँछ । औषत दिनमा २ करोड हाराहारीमा सुनको कारोबार भैरहेको छ । अफसिजनकै बेलामा पनि डेढ करोडभन्दा बढी सुन पोखरालाई चाहिन्छ । बर्षेनी ७ अर्वभन्दा बढीको काँचो सुन पोखरालाई आवश्यक पर्ने सुनचाँदी ब्यवसायी संघले जनाएको छ ।

काँचो सुनलाई ग्राहकको माग अनुसार बनाएर विक्रि गर्छन् ब्यापारीहरुले । महासंघले दिने बाहेक विदेश गएका नेपालीहरुले पनि ५० ग्रामका दरले सुन ल्याउँछन् र ब्यापारीलाई बेच्छन् । तर अहिले भन्सार बढी लाग्ने भएकोले नेपालीले सुन ल्याउन छोडेको संघका अध्यक्ष विश्वकर्माले बताए । ‘अघिल्लो बर्षसम्म ५० ग्राम सुन ल्याउन पाउने ब्यवस्था थियो । अहिले भन्सार लिन थालेपछि झण्झटिलो भएको छ, उनले भने–१०० ग्राम सुन ल्याउँदा भन्सार ५७ हजार तिर्नुपर्छ । नेपालीले छुट्टै सुन बोकेर आउने सम्भावना अव छैन ।’ पोखराका सुन ब्यापारीहरुले सुनको आपुर्ति कम भएको भन्दै २ दिन ब्यवसाय बन्द गरे । सरकारले ग्राहकको माग अनुसार ब्यापारीलाई सुन दिनुपर्ने उनीहरुको माग छ । माग सुनुवाई नभए देशभरका ब्यवसायीहरु भेला भएर संघर्षका कार्यक्रम गर्ने चेतावनी दिएका छन् ।