पोखरामा दिनहुँ चोरी, सुन र नगदमा चोरको दाउ

पोखरा, भदौ १० ।
एकसाताअघि पोखराको बागमाराको टोलभरी चोरी भयो । ११ तोला भन्दा बढी सुन चोरले लग्यो । त्यसको पर्सिपल्ट रामबजारमा दिउँसै चोरियो गरगहना र नगद रकम ।

फेरि त्यसको भोलिपल्ट पोखराको गैह्रापाटनबाट एकतोला सुन सहित बैंकको चेक र पेन्सन पट्टा चोरी भएको छ । ४ दिनअघि पोखराको पृथ्वीचोकमा पसल फुटाएर नगद सहित खाद्यान्न चोरी भयो । पछिल्लो समय पोखरामा दिनहुँजसो चोरीका घटना भैरहेका छन् ।

तर प्रहरीले चोरलाई पक्राउ गर्न सकेको छैन । चोरीका घटनाबारे अनुसन्धान भैरहेको र छिट्टै चोर पक्राउ गरी कारबाहीको दायरामा ल्याउने कास्की प्रहरीका प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले बताए । चोरले बिशेषगरी सुनका गरगहना र नगद रकममा आँखा गाडेको घटनाक्रमले देखाउँछ ।

चाडबाडको समय सुरु भएकोले सचेत रहन प्रहरीले सबैलाई आग्रह गरेको छ । ‘चाडबाडमा चोरीका घटना बढी हुन्छन् । यसमा आफै पनि सचेत हुनुपर्छ, गुरुङले भने–प्रहरी खटाउने र चोरी हुन नदिन विशेष निगरानी बढाउने काम गर्छौं ।’