पोखरामा तार सर्ट भएर आगलागी

पोखरा, असार ३२ ।
पोखरा महानगरपालिका वडा नम्बर ४ स्थित गणेश टोलमा आगलागी भएको छ । सोमबार विहान करिब पौने ८ बजे विजुलीको तार शर्ट भएर आगलागी भएको हो ।

पोखरामा दिनहुँजसो विजुली शर्ट भएर आगलागी भैरहन्छ । पोखरा वडा नम्बर ४ ले अस्तब्यस्त तारलाई अण्डरग्राउण्ड गर्ने योजना सहित महानगरमा प्रश्ताव समेत प्रश्तुत गरेको थियो । त्यसपछि महानगरको तेश्रो नगरसभाबाट ६ किलोमिटर क्षेत्रभित्रको तार अण्डरग्राउण्ड गर्ने निर्णय गरेको छ ।

तर नगरसभाले अमुर्त रुपमा गौरवको योजना भनि बजेट विनियोजन गरेपनि कार्यान्वयनमा समस्या हुने वडा नम्बर ४ का अध्यक्ष शंकर बास्तोलाले बताए । ‘सबैभन्दा पहिलो प्रश्ताव वडा नम्बर ४ को हो । त्यसैले प्राथमिकता हामीले पाउनुपथ्र्यो, उनले भने–योजना नै कार्यान्वयन नहुने गरी अमुर्त रुपमा गौरवको योजना भनेर पछि पारियो । राजनीतिक गन्ध देखाएर बाईपास गर्ने काम भएको छ ।’

नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमले पोखरामा सबैभन्दा बढी वडा नम्बर ४ मा तार अब्यवस्थित रहेको जनाएको छ । वडास्तरमा छलफलको क्रममा सम्बन्धित निकायका प्रतिनिधीले पोखराको तार र पोलबारे मौखिक प्रतिवेदन सुनाएका थिए ।

समयमै समस्या समाधान नभए जटिल अवस्था आउने बास्तोला बताउँछन् । ‘दिनहुँजसो तार शर्ट भएर आगलागी हुन्छन् । झन्झन् तारहरु पूरानो हुँदै जाँदा यसको दर पनि बढ्दै जान्छ, उनले भने–पोलमा रहेका ७० प्रतिशत तारहरु काम नलाग्ने भैसके । बेलैमा आधुनिक प्रविधिको तार अण्डरग्राउण्ड गर्नुपर्छ ।’