पोखरामा डेढ लाख पर्यटक बढे

पोखरा, भदौ ९ ।
पोखरामा हवाई मार्गबाट आउने पर्यटकको संख्या बढ्दै गएको पोखरा विमानस्थलको तथ्यांकले देखाएको छ । बितेको आर्थिक वर्षभन्दा २०७४र७५ मा ३२ प्रतिशतले पर्यटक बढेको नागरिक उड्डयन प्राधिकरणको पोखरा कार्यालयका प्रमुख भोलाप्रसाद गुरागाईंले जानकारी दिए ।

उनले अघिल्लो वर्षभन्दा १ लाख ४१ हजार ६ सय ७१ जना पर्यटक बढी आएको जानकारी दिए । ‘नेपालीमात्रै है विदेशी पर्यटक पनि बढेका छन्’, उनले भने, ‘२०७३र७४ मा विदेशी पर्यटक १ लाख ३९ हजार ४ सय ७७ जना आएका थिए, २०७४र७५ मा १ लाख ७५ हजार २४ जना पर्यटकले विमान प्रयोग गरे ।’

उनले आर्थिक वर्ष २०७३र७४ मा ४ लाख ११ हजार ५ सय ३६ जनाले हवाईमार्ग प्रयोग गरेकोमा २०७४र७५ मा ५ लाख ५३ हजार २ सय ७ जना हवाईमार्गबाट आवतजावत गरेको बताए । पोखरामा विमानस्थलमा पछिल्लो आर्थिक वर्षको एक वर्षमा २ लाख ७० हजार २ सय ३० जना हवाईमार्गबाट पोखरा प्रवेश गरेका छन् भने २ लाख ८२ हजार ९ सय ७७ जना पोखराबाट बाहिरिएका छन् ।

विमानस्थलको आम्दानी पनि ३४ प्रतिशतले पढेको उनले बताए । अघिल्लो आर्थिक वर्षभन्दा २ करोड २३ लाख आम्दानी बढेको जानकारी उनले दिए । आर्थिक वर्ष २०७३र७४ मा ६ करोड ९४ लाख ३० हजार आम्दानी भएको थियो भने २०७४र७५ मा ९ करोड १७ लाख ३० आम्दानी गरेको बताए । पोखरा विमानस्थलले यात्रु सेवाशुल्क, जहाज आवतरण, ह्यांगर, घरभाडा लगायत शीर्षकबाट आम्दानी गर्छ ।

पोखराबाट दैनिक पोखरा काठमाडौं, पोखरा भैरहवा, पोखरा चितवन र पोखरा जोमसोम सिधा उडान हँुदै आएको छ । बुद्ध एयर, यती एयरलायन्स, सिम्रिक एयर, नेपाल एयरलायन्स, तारा एयरलायन्स लगायतले दैनिक करिब २० उडान भर्छन् ।

थपिँदै उडान
पोखरामा पर्यटकीय सिजन सुरु हुने हुनै लाग्दा एयर लाइन्सहरुले फ्लाइट संख्या बढाउने तयारी थालेका छन् । पोखरा काठमाडौं रुटमा बुद्ध एयरले भदौ दोस्रो सातापछि दैनिक १४ फ्लाइट तयारी गरेको बुद्ध एयरका पोखराका प्रमुख गौतम बरालले जानकारी दिए ।

‘अहिले दैनिक ८ फ्लाइट छ,’ उनले भने ‘पर्यटकीय सिजनमा अग्रिम ५० प्रतिशतभन्दा बढी बुकिङ आइसकेको छ, त्यसैले दैनिक १२र१४ फ्लाइटको तयारी गरिरहेका छौं ।’ उनले आइतबारदेखि पोखरामा नै राति पनि जहाज राखेर बिहान ७ बजे नै फ्लाइट गर्ने तयारी गरेको बताए ।

यती एयरलाइन्सले पनि १२–१३ फ्लाइइटको तयारी गरिरहेको नागरिक उड्डयन प्राधिकरणको पोखरा कार्यालयका प्रमुख भोलाप्रसाद गुरागाईंले जानकारी दिए । त्यसै गरि सिम्रिक एयरलाइन्सका पोखरामा प्रमुख विकास बरालले पर्यटकीय सिजनका लागि ५ फ्लाइट थप पर्ने बताए ।

‘अहिले २ फ्लाइट हुदै आएको छ,’ उनले भने ‘सिजनको बेला ५–६ फ्लाइट उठान गर्ने छौ ।’ गुरागाईंले मकालु एयरले पनि पोखराबाट चार्टर फ्लाइट गर्ने तयारी गरेको जानकारी दिए । श्रीएयर लाइन्स पनि पोखराबाट उडानका लागि तयारी गर्दै गरेको उनको भनाइ छ ।–गन्थन