पोखरामा ट्रकमुनी पस्यो स्कुटर, छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु

पोखरा, भदौ १२ ।
पोखरामा भएका छुट्टाछुट्दै दुर्घटनामा २ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्तरगत पोखरा–३२ गगनगौंडामा बुधबार राति ना ५ ख ५०४६ नम्बरको ट्रकले ग ११ प २३५८ नम्बरको स्कूटर र ग ७ प ७४२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ ।

स्कुटरमा सवार पोखरा–५ पस्र्याङ निवासी १८ वर्षीय सागर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी राजकुमार केसीले जानकारी दिए । ठक्करपछि ट्रकको चक्कामूनि परेका गुरुङको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारकै क्रममा मृत्यु भएको उनले जानकारी दिए ।

दुर्घटनामा स्कुटर चालक पोखरा–२ अर्चलबोट निवासी निशान गुरुङ, मोटरमा सवार पोखरा भण्डारढीक निवासी २२ वर्षीय विकल सुनार र रुपा गाउँपालिक–७ का दीपक विक घाइते भएका छन् । उनीहरु तीनै जनाको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रहरीले अनुसन्धानका लागि ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिएको छ । त्यसै गरी बुधबार नै पृथ्वीराजमार्ग अन्तरगत पोखरा–२७ तालचोकमा ग ३ च १४२२ नम्बरको मिनी भ्यानले बा ९४ प १७०५ नम्बरको मोटर साइकललाई ठक्करदिँदा बागलुङ जिल्ला घरभई काठमाण्डौ कीर्तिपुर बस्ने २८ वर्षीय थपन पाइजाको मृत्यु भएको प्रहरीको भनाई छ ।

दुर्घटनामा परी गम्भीर घाइते पाइजाको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । भ्यान र भ्यान चालकलाई प्रहरी नियन्त्रणमा राखिएको छ ।